कर्जा खोज्दै आयल निगम
Thursday, June 30th, 2022, 7:45 pm
Kalpristha
नेपाल आयल निगमले भारतीय आयल निगमलाई तिर्नुपर्ने रकम जुटाउन कर्जा खोज्दै छ । जसका लागि अर्थ मन्त्रालयले आयल निगमलाई सहयोग गर्ने भएको हो ।
नेपाल आयल निगमले भारतीय आयल निगमलाई १५ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ । जसमा सरकारले ८ अर्ब रुपैयाँ जुटाइदिने भएको छ । र बाँकी रकमका लागि निगमले राष्ट्रिय वाणिज्य बैंकसँग कर्जा माग गरेको छ ।
घाटामा गइरहेको निगमबाट अर्थ मन्त्रालयले निगम नाफामा हुँदा बढी तिरेको आयकर र मूल्य अभिवृद्धि कर पाँच अर्ब रूपैयाँ फिर्ता दिने र तीन अर्ब रूपैयाँ कर्जाको लागि पहल गरिदिने भएको हो ।
यसअघि आयल निगमले मुख्यालय रहेको आफ्नो जग्गा धितोमा राखेर कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकसँग कर्जा माग गरेको थियो । तर वाणिज्य बैंकले सरकारी जमानी बिनाकर्जा नदिने जनाएको थियो । निगमले वाणिज्य बैंकसँग माग गरेका कर्जाको लागि अर्थ मन्त्रालयले पनि पहल गरिदिने भएको छ ।
अर्थ मन्त्रालयले जुटाइदिने भनेको रकमको बारेमा उद्योग, वाणिज्य तथाा आपूर्ति मन्त्रालयमा पत्राचार भएको निगमले जनाएको छ ।
यसरी सरकारबाट ८ अर्ब पाए पनि आयल निगमले भारतीय आयल निगमलाई तिर्नुपर्ने रकम १५ अर्ब रूपैयाँ बाँकी रहेने देखिन्छ ।
निगमका अनुसार हालसम्म २२ अर्ब बढी रकम आइओसीलाई तिर्न रहेको छ । साथै जुलाई १ मा नयाँ मूल्यदर आउँदासम्म यस्तो तिर्नुपर्न रकम २३ अर्ब रूपैयाँ बराबर हुने निगमको भनाइ छ ।