पूर्वाग्रही ढंगले आफूलाई स्पष्टीकरण सोधिएको सह-सचिव थारुको आरोप
Sunday, July 3rd, 2022, 5:20 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेका जिल्ला सह-सचिव विनोद थारुले आफूलाई पार्टीले पूर्वाग्रही ढंगले स्पष्टीकरण सोधिएको आरोप लगाएका छन् । थारुले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर विधान विपरित गरिएका निणर्यप्रति गम्भिर असहमति जनाएकै कारण स्थानीय निर्वाचानमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप आफूमाथि लगाइएको बताए ।
थारुले प्रेस विज्ञप्ति निकालेरै आफूप्रति नेपाली कांग्रेस बाँकेले गरेको व्यवहारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाए ।
उनले भने, ‘जिल्ला सभापति नारायणप्रसाद गौडेलले निर्वाचनको मुखमा विधान विपरित गरेका निणर्यप्रति गम्भिर असमति जनाएकै कारण ममाथि अहिले पूर्वाग्रही राखी निराधार आरोप लगाउँदै स्पष्टीकरण सोध्न खोजिएको मेरो ठम्याई रहेको छ ।’
.
यसअघि कांग्रेस बाँकेको जिल्ला अनुशासन समितिले थारुसहित सय बढी स्थानीय तथा जिल्ला नेताहरुलाई स्पष्टिकरण सोध्ने निणर्य गरेको थियो । तर थारुले अनुशासन समिति नै वैधानिक नभएको बताए ।
उनले भने, ‘जिल्ला सभापतिले आफ्नो अनुकुल मनोनित गरेको जिल्ला कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति, अनुशासन समिति, जिल्ला संसदिय समिति, प्रेस सल्लाहकार नियुक्ति जस्ता विषय नै छानविनमा रहेको र अझै टुंगो नलागेको अवस्थामा अनुशासन समितिको नाममा स्पष्टीकरण सोध्ने निणर्य वैधानिक छैन ।’
आफूलाई जिल्ला कार्यसमितिले क्षेत्र नम्बर ३ मा अनुगमन र प्रचार संयोजक बनाएर पठाएको स्मरण गराउँदै उनले जानकी र बैजनाथमा अध्यक्ष/उपाध्यक्ष तथा खजुरा गाउँपालिकामा गठबन्धनबाट उपाध्यक्ष जितेको बताए ।
उनले विज्ञप्तिमार्फत ‘आफ्नो व्यक्तिगत स्रोत, साधन प्रयोग गरेर म आफ्नो क्षेत्रमा खटिएको थिए । निर्वाचनमा इमान्दारीपूर्वक आफ्ना आधिकारिक उम्मेदवारलाई निर्वाचित गराउन दिनरात नभनेर पुर्याएको योगदानको अबमूल्याकन गर्दै मलाई पूर्वाग्रही ढंगले स्पष्टीकरण सोध्ने भनि गरेको निणर्प्रति स्तब्ध एवम् दुःखी भएको छु’ भनेका छन् ।
कार्यक्रममा बाँके क्षेत्र नम्बर १ ‘क’ सभापति लक्ष्मण थारुले जिल्ला सभापति गौडेलले पार्टीभित्र गुटबन्दी गरेको आरोप लगाए । उनले गौडेलले आफूखुसी पार्टी चलाएको बताए ।
.