बाँकेमा कोरोनाविरुद्धको दोस्रो र बुष्टर डोज लगाइँदै
Monday, July 4th, 2022, 6:54 pm
Kalpristha
स्वास्थ्य कार्यालय बाँकेले जिल्लामा रहेको आठवटा पालिकाका ८१ वटै वडाहरुमा सोमबारदेखि कोरोनाविरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउन सुरु गरेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार सबै वडाका स्थानीयतहले तोकेको खोप केन्द्रमा १८ वर्ष नाघेका नागरिकहरुलाई पहिलो खोप लगाई दोस्रो र बुष्टर खोप लगाउने समय पुगेकाहरुका लागि खोप अभियान संचालन गरिएको हो ।
खोप अभियानअन्र्तगत सोमबारदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन सुरु गरिएको छ । उक्त पालिकाहरुमा सोमबार र मंगलबार छुटेका बस्तीहरुमा र २२ गते वडाको स्वास्थ्य संस्थाहरुमा खोप लगाइने छ ।
त्यस्तै असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ ।
अहिलेसम्म बाँकेमा शतप्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा हालसम्म चार लाख ८१ हजार ८३३ ले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका हुन् । यो लक्ष्यभन्दा एक दशमलव २ प्रतिशतले बढी हो ।
बाहिरी जिल्लाबाट आएका व्यक्तिले खोप लगाएका कारण लक्ष्यभन्दा बढीले जिल्लामा खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
दोस्रो डोज खोप लगाउनेको संख्या तीन लाख ८५ हजार ८ सय ९२ रहेको छ । खोपको मात्रा पूरा गर्ने अर्थात दोस्रो डोज लगाउने ८१ दशमलव १ प्रतिशत रहेका छन् ।
बुष्टर डोज लगाउनेको संख्या भने जिल्लामा निकै कम छ । बुष्टर डोज लगाउनेको संंख्या एक लाख सात हजार ३ सय ६ रहेको छ । प्रतिशतका हिसाबले यो २२ दशमलव ५ प्रतिशत हो ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा शतप्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।
सबैभन्दा कम खोप लगाउनेमा नरैनापुर र जानकी गाउँपालिका रहेका छन् । ती पालिकामा पहिलो डोज खोप लगाउने ८० प्रतिशतको हाराहारीमा छन् ।
बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ९० प्रतिशत बढीले कोरोनाविरुद्धको पहिलो खोप लगाउँदै छन् ।