ई–रिक्सा व्यवस्थापन गर्दै नेपालगन्ज
Monday, July 4th, 2022, 6:58 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका इ–रिक्साहरुलाई सूचीकृत हुन आह्वान गरेको छ ।
इ–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग सोमबार गरिएको छलफलमा यही साउन १५ गतेभित्र सबै इरिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिकाले सरोकारवालाहरुसँग गरेको छलफलमा नगरमा सञ्चालित इ–रिक्साहरुको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा मन्थन भएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नागरिकले दुःख नपाउने गरी इ–रिक्साहरुको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने बताए । ‘नेपालगन्ज उप–महानगरपालिका एक्लैले गर्न सम्भव छैन, यसमा सबै सरोकारवालाहरुको भूमिका आवश्यक छ,’ नगर प्रमुख विष्टले भने , ‘जनताले दुःख नपाउनेगरी ट्राफिक व्यवस्थापनमा कठोर बन्नुपर्ने जरुरी भइसकेको छ ।’
विष्टले ट्राफिक व्यवस्थापनका विषयमा गम्भीररुपमा छलफल प्रारम्भ भएको बताउँदै अब समिति बनाएरै यसबारे विस्तृत अध्ययन गर्ने र विभिन्न विकल्पहरुमा छलफल गरी समाधानका उपाय निकालिने बताए ।
उपप्रमुख कमरुद्दीन राईले इ–रिक्सा व्यवस्थापन नगरको मुख्य टाउको दुःखाईको विषय भएको भन्दै उचित व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले ई–रिक्सा नगरको ठूलो समस्याको रुपमा रहेको बताउँदै निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चार पाङ्ग्रे र तीन पाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताब गरे । उनले ट्राफिक व्यवस्थापनका लागि उप–महानगरपालिकासमक्ष लिखित प्रस्ताब समेत पेश गरे ।
छलफलमा ठेला, इ–रिक्सा र फुटपाथ व्यवस्थापनका विषयमा सरोकारवालाहरुले आ–आफ्नो धारणा राखेका थिए ।
छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, महासचिव चिरञ्जिवी वली, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंह, नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी, ठेला एवम् इ–रिक्सा सम्बद्ध विभिन्न युनियनका प्रमुख एवम् प्रतिनिधिहरु, नेपालगन्ज उप–महानगरपालिकाको राजश्व शाखा प्रमुख वीरबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।