पत्रकारिता पेशालाई मर्यादित बनाउन आवश्यक
Monday, July 4th, 2022, 7:57 pm
Kalpristha
पत्रकारिता पेशालाई मर्यादित र अनुशासित बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । आइतबार कोहलपुरमा आयोजित मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रमका सहभागीले पत्रकारिता समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भए पनि पछिल्लो समय पत्रकारिता पेशा अनुशासित र मर्यादित हुन नसकेका बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको सहयोग उक्त कार्यक्रम संचालन गरिएका थियो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पत्रकारिता निष्पक्ष र मर्यादित हुनुपर्ने बताए । उनले पत्रकारहरुले सत्य र खोजमा आधारित भएर समाचार लेख्न आग्रह गरे ।
उनले भने, ‘तपाईं पत्रकारहरु सत्य र खोजमा आधारित भएर समाचार लेखिदिनुस् । यसले मिडियाप्रतिको आकर्षण पनि बढ्छ । मिडिया सशक्त भएमा मात्र राज्यका अंगहरु सशक्त हुने गर्दछन् ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले मिडिया साक्षरताका विभिन्न पक्षबारे जानकारी गराएका थिए ।
महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईँको अध्यक्षतामा सम्पन्न र्कायक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, अकोराबका केन्द्रिय सदस्य हेमन्त विक, महासंघ प्रदेश कमिटी सदस्य आरिफ अन्सारी, महासंंघ बाँकेका पूर्वअध्यक्ष नीरज गौतम, महासंघ बर्दियाका पूर्वअध्यक्ष राजेन्द्र धिताल, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, नेपाल प्रेस यूनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्ल, नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीलगायतका वक्ताले मिडियाको भूमिकाबारे धारणा राखेका थिए ।
कार्यक्रममा बाँके र बर्दियाका पत्रकारको सहभागिता रहेको थियो ।