उदयपुर स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा नेपालगन्जकै उत्कृष्ट
Monday, July 4th, 2022, 8:01 pm
Kalpristha
नेपालगन्ज उपमहानगरपालिका–१३ स्थित उदयपुर स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा नेपालगन्जकै उत्कृष्ट घोषित भएको छ ।
समग्र सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापनमा उदयपुर अब्बल देखिएको छ । उदयपुरले न्यूनतम सेवा मापदण्डमा ८७ प्रतिशत अंक हासिल गरेर उत्कृष्ट बनेको हो । त्यस्तै पुरैनी स्वास्थ्य चौकी ८६ प्रतिशत अंक हासिल गर्दै दोस्रो भएको छ ।
यस्तै खासकारकाँदो स्वास्थ्य चौकीले ८४ प्रतिशत अंक प्राप्त गरेको छ भने जयसपुर र भवानीपुर स्वास्थ्य चौकीले ८१–८१ प्रतिशत अंक प्राप्त गरेका छन् ।
‘नेपालगन्ज उपमहानगरपालिकाले गुणस्तरिय स्वास्थ्य सेवामा मूल्याङ्कन तथा सुधारका निम्ति नेपालगन्जका ११ वटा स्वास्थ्य चौकीमा न्युनतम सेवा मापदण्ड मापन गरि सुधारका लागि योजना बनाइएको छ नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट तेज वलीले भन्नुभयो–‘समग्र सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापनका क्षेत्रमा हेरिएको मापदण्डमा उदयपुर स्वास्थ्य चौकीले उच्चतम अंक सहित प्रथम र पुरैनी स्वास्थ्य चौकीले दोश्रो स्थान हासिल गरेको छ ।
अन्य सबै स्वास्थ्य संस्थाको अवस्था संतोषजनक देखिएको छ ।’
न्यूनतम सेवा सुधारका निम्ति सबै वडाका व्यवस्थापन समितिले सुधारका लागि सकारात्मक सुझाव तथा योजना बनाएको पाइएको पनि उहाँले जानकारी दिनुभयो ।