४ किलो अफिमसहित २ जना पक्राउ
Monday, July 4th, 2022, 8:09 pm
Kalpristha
बाँकेको चिसापानीबाट करिब ४ किलो लागुऔषध अफिम सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर–१ चिसापानीबाट अफिमसहित २ जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका वडा नम्बर–३ बस्ने २५ वर्षीय गोपाल रोकाय र लेखराज विष्ट रहेका छन् । प्रहरीले उनीहरुबाट ३ केजी ८ सय ग्राम लागुऔषध अफिम बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार चिसापानी स्थित सेनोको चेकप्वाईन्टमा गोपाल रोकाय शंकास्पदरुपमा हिँडिरहेका थिए । उनलाई रोकेर सोधपुछ गर्ने क्रममा आफूले बोकेको झोला त्यहीँ छाडेर उनी निकुञ्जभित्र भागेका थिए ।
सुर्खेतको छिन्छुबाट नेपालगन्ज आइरहेका गोपालले छाडेको झोलामा लागुऔषध अफिम फेला परेको मल्लले बताए । उनलाई निकुञ्जमा गस्ती गरिरहेको सेना, बाँके राष्ट्रिय निकुञ्ज तथा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।
गोपाललाई नियन्त्रणमा लिइ थप अनुसन्धान गर्दा मोटरसाईकल चालक जाजरकोट नलगाड नगरपालिका वडा नम्बर–३ बस्ने २५ वर्षीय लेखराज विष्टलाई आईतबार ३ बजे कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीबाट नियन्त्रणमा लिएको उनले बताए ।
लागुऔषध अफिम ओसारपसारमा प्रयोग गरिएको भे ७ प ८६७७ मोटरसाईकल आईतबार बेलुका ६ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कबाट नियन्त्रणमा लिइएको हो ।
मल्लका अनुसार पक्राउ परेका दुवैजनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ४(ङ), (च) अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । यो ऐनको दफा १४(६) ३ बमोजिम १५ वर्ष जन्मकैद र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।