डा. नागलाई कारबाहीको लागि सिफारिस
Tuesday, July 5th, 2022, 6:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ असार
भेरी अस्पताल विकास समितिले अस्पतालमा कार्यरत वरिष्ट कन्सल्टेन्ट सर्जन डा. सुरेश नागलाई कारबाहीको लागि सिफारिस गरेको छ । अस्पताल विकास समितिले डा. नागले आफनो जिम्मेवारी पुरा नगरेर लापरबाही गरेका कारण उनलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
डा. नाग भेरी अस्पतालको स्थायी कर्मचारी हुन् । भेरी अस्पतालका वरिष्ट कन्सल्टेन्टहरुको प्राय हप्तामा दुइ पटक डिउटी पर्ने गर्छ । तर उनी हप्तामा दुई पटक समेत डिउटीमा नआउने गरेको भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले कालपृष्ठ दैनिकलाई बताए ।
उनले भने,‘सिनियर डाक्टरको हप्तामा दुइ पटक जति डिउटी पर्ने गर्छ । तर त्यो समयमा पनि उहाँ भेरी अस्पतालमा आउनु हुन्न । यसका बारेमा हामीले एक वर्ष अघि पनि उहाँलाई सुर्धने मौका दिएका थियौं । तर हिजो(सोमबार) आएर असार २९ गते सम्मको हाजिर लगाउनु भएछ । यो जस्तो गैरजिम्मेवारी पुर्ण काम अरु के हुन्छ ।’
विगतका दिनमा पनि डा. नागलाई सुर्धनको लागि मौका दिएपनि उनले आफनो व्यवहार सुधार नगरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताएका छन । बारम्बार गैरजिम्मेवारी पुर्ण कार्य गरेको भन्दैं मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले डा. नागलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको छ ।
भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले अस्पतालमा कार्यरत डाक्टरले जाना–जान लापरबाही नगरेको बताए । उनले भने,‘अस्पतालमा डाक्टरहरु बस्नको लागि प्रर्याप्त ठाउँ समेत छैन । अधिकाशं डाक्टरहरु आफनो डिउटीको समयमा आउनु हुन्छ । डिउटी गरेर फर्कनु हुन्छ । विद्युतीय हाजिर नभएर पनि यो समस्या भएको हुन सक्छ । असार २९ सम्मको हाजिर गरेको बारेमा उहाँले झुक्एिर गरेको प्रतिक्रिया दिनु भएको छ ।’
अस्पताल विकास समितिले आफुलाई लगाएको आरोप गलत भएको डा. सुरेश नागले कालपृष्ठ दैनिकलाई बताए । उनले भने,‘मैले झुक्एिर जेठ भनेर असार २९ गते सम्मको हाजिर गरेको कुरा सत्य हो । त्यो गल्ती भएको कुरा मैले सोमबार नै प्रशासनका कर्मचारीलाई भनेको थिए । तर मलाई लगाएका अरु आरोप सबै गलत छन् ।’
बुधबार पत्रकार सम्मेलन गरेर आफुले त्यसका बारेमा विस्तृत सार्वजनिक गर्ने डा. नागले प्रतिक्रिया दिए । उनले थपे,‘मैले अस्पतालको विकासमा कति योगदान गरेको छु । त्यो सबैलाई थाहा छ । विकास समितिले मलाई दुख दिने नियतले कारबाहीका लागि सिफारिस गरेको हो ।’
भेरी अस्पताल पश्चिम नेपालको पुरानो र सुविधा सम्पन्न अस्पताल भए पनि व्यवस्थापन अस्तव्यस्त देखिन्छ । राज्यले हरेक वर्ष करोडौंको लगानी गर्ने गरे पनि भेरी अस्पतालको सेवा–सुविधा भने प्रभावकारी देखिँदैन् ।
अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीका कारण पटक–पटक लापरबाही पूर्ण घटना हुँदै आएका छन् । तर त्यसको निस्पक्ष छानबिन भने अस्पताल विकास समिति र प्रशासन कसैले गर्ने गरेको छैन ।
अस्पतालमा कार्यरत स्थायी हुन वा अस्थायी प्राय सबै डाक्टरहरुले आफनो निजी क्लिनिक, अस्पताल र ल्याबहरु खोलेका छन ।
जसका कारण अस्पतालमा भन्दा आफनो निजी क्लिनिकमा डाक्टरहरुले बढी समय दिने गरेको सर्वसाधरणले गुनासो गर्दै आएका छन । तर त्यसको नियगमन भने फितलो छ ।
यसै हप्ता भेरी अस्पताल विकास समितिले अस्पतालमा बिचौंलियाको काम गर्ने पाँच जनालाई प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । पछिल्लो समय अस्पतालको व्यवस्थापनलाई सुधार गर्ने प्रयास गरिरहेको बताउँछन अस्पताल विकास समितिका पदाधिकारी । त्यसमा आम नागरिकको पनि सहयोग हुनु पर्ने बताउँछन् अस्पताल विकास समितिका सदस्य श्रेष्ठ ।