डा. सुरेश नाग भन्छन्, ‘झुक्किएर हाजिर गरे’
Tuesday, July 5th, 2022, 7:00 pm
Kalpristha
अस्पताल विकास समितिले आफूलाई लगाएको आरोप गलत भएको डा. सुरेश नागले कालपृष्ठ दैनिकलाई बताए । उनले झुक्किएर हाजिर गरेको बताए ।
भेरी अस्पताल विकास समितिले अस्पतालमा कार्यरत वरिष्ट कन्सल्टेन्ट सर्जन डा. सुरेश नागलाई कारबाहीको लागि सिफारिस गरेको छ । अस्पताल विकास समितिले डा. नागले आफ्नो जिम्मेवारी पूरा नगरेर लापरबाही गरेका कारण उनलाई कारबाहीका लागि सिफारिस गरेको हो ।
डा. नाग भेरी अस्पतालको स्थायी कर्मचारी हुन् । भेरी अस्पतालका वरिष्ट कन्सल्टेन्टहरुको प्राय हप्तामा दुईपटक डिउटी पर्ने गर्छ । तर उनी हप्तामा दुईपटक समेत डिउटीमा नआउने गरेको भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले कालपृष्ठ दैनिकलाई बताए ।
उनले भने, ‘सिनियर डाक्टरको हप्तामा दुईपटक जति डिउटी पर्ने गर्छ ।
तर त्यो समयमा पनि उहाँ भेरी अस्पतालमा आउनु हुन्न । यसका बारेमा हामीले एक वर्ष अघि पनि उहाँलाई सुर्धने मौका दिएका थियौं । तर हिजो(सोमबार) आएर असार २९ गतेसम्मको हाजिर लगाउनु भएछ । यो जस्तो गैरजिम्मेवारीपूर्ण काम अरु के हुन्छ ।’
विगतका दिनमा पनि डा. नागलाई सुर्धनको लागि मौका दिए पनि उनले आफ्नो व्यवहार सुधार नगरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताएका छन् । बारम्बार गैरजिम्मेवारी पूर्ण कार्य गरेको भन्दैं मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले डा. नागलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको छ ।
भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले अस्पतालमा कार्यरत डाक्टरले जाना–जान लापरबाही नगरेको बताए । उनले भने, ‘अस्पतालमा डाक्टरहरु बस्नको लागि प्रर्याप्त ठाउँसमेत छैन् । अधिकांश डाक्टरहरु आफ्नो डिउटीको समयमा आउनु हुन्छ । डिउटी गरेर फर्कनु हुन्छ । विद्युतीय हाजिर नभएर पनि यो समस्या भएको हुन सक्छ । असार २९ सम्मको हाजिर गरेको बारेमा उहाँले झुक्एिर गरेको प्रतिक्रिया दिनु भएको छ ।
अस्पताल विकास समितिले आफूलाई लगाएको आरोप गलत भएको डा. सुरेश नागले कालपृष्ठ दैनिकलाई बताए । उनले झुक्किएर हाजिर गरेको बताए । ‘मैले झुक्किएर जेठ भनेर असार २९ गतेसम्मको हाजिर गरेको कुरा सत्य हो । त्यो गल्ती भएको कुरा मैले सोमबार नै प्रशासनका कर्मचारीलाई भनेको थिए । तर मलाई लगाएका अरु आरोप सबै गलत छन्,’ डा. नागले भने ।
बुधबार पत्रकार सम्मेलन गरेर आफूले त्यसका बारेमा विस्तृत सार्वजनिक गर्ने डा. नागले प्रतिक्रिया दिए । उनले थपे, ‘मैले अस्पतालको विकासमा कति योगदान गरेको छु । त्यो सबैलाई थाहा छ । विकास समितिले मलाई दुख दिने नियतले कारबाहीका लागि सिफारिस गरेको हो ।’
भेरी अस्पताल पश्चिम नेपालको पुरानो र सुविधा सम्पन्न अस्पताल भए पनि व्यवस्थापन अस्तव्यस्त देखिन्छ । राज्यले हरेक वर्ष करोडौंको लगानी गर्ने गरे पनि भेरी अस्पतालको सेवासुविधा भने प्रभावकारी देखिँदैन ।
अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीका कारण पटक–पटक लापरबाहीपूर्ण घटना हुँदै आएका छन् । तर त्यसको निस्पक्ष छानबिन भने अस्पताल विकास समिति र प्रशासन कसैले गर्ने गरेको छैन ।
अस्पतालमा कार्यरत स्थायी हुन् वा अस्थायी प्राय सबै डाक्टरहरुले आफ्नो निजी क्लिनिक, अस्पताल र ल्याबहरु खोलेका छन् ।
जसका कारण अस्पतालमा भन्दा आफ्नो निजी क्लिनिकमा डाक्टरहरुले बढी समय दिने गरेको सर्वसाधरणले गुनासो गर्दै आएका छन् । तर त्यसको नियमन भने फितलो छ ।
यसै हप्ता भेरी अस्पताल विकास समितिले अस्पतालमा बिचौंलियाको काम गर्ने पाँच जनालाई प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । पछिल्लो समय अस्पतालको व्यवस्थापनलाई सुधार गर्ने प्रयास गरिरहेको बताउँछन्, अस्पताल विकास समितिका पदाधिकारी । त्यसमा आम नागरिकको पनि सहयोग हुनुपर्ने बताउँछन् अस्पताल विकास समितिका सदस्य श्रेष्ठ ।