नेपालगन्जमा सफल व्यवसायीलाई सम्मान
Tuesday, July 5th, 2022, 7:24 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाले साझेदारी विकास कार्यक्रमअन्तर्गत लघु कर्जा लिएर सफल हुँदै गरेका व्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । मंगलबार नेपालगन्ज उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा १७ जना व्यवसायीहरुलाई
पुरस्कार सहित सम्मान गरिएको हो ।
उनीहरुलाई नगर प्रमुख प्रशान्त विष्ट र वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवीले सम्मान गरेका थिए । सो कार्यक्रममा नगर प्रमुख विष्टले साझेदारी विकास कार्यक्रम प्रभावकारी देखिएको भन्दै उपमहानगरको प्राथमिकतामा परेको बताए ।
उनले सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने भएकाले उपमहानगरले यसलाई निरन्तरता दिने बताए । वडा नम्बर २० का वडा अध्यक्ष धोवीले नागरिकताको भरमा नगरभित्र करिब चार करोड लगानी गरिएको भन्दै यो देशमै नमूनायोग्य काम भएको बताए ।
सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले नेपालगन्जको २० वडामा हालसम्म यो कार्यक्रम सन्चालन गरिएको भन्दै २० हजार देखि दुईलाख रुपियाँ सम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने गरिएको बताए ।
उपमहानगरपालिकाले नियमित किस्ता र ब्याज बुझाउने, तोके अनुसारको व्यवसाय सन्चालन गर्ने व्यवसायीलाई नगद ५ हजार सहित सम्मान गरेको हो ।