वडाबाटै सुरक्षा भत्ता वितरणका लागि पहल
Wednesday, July 6th, 2022, 7:29 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि पहल अघि बढाएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका १५ वटा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधीहरुलाई बुधबार नेपालगन्ज उप–महानगरपालिकाका कार्यालयमा बोलाएर नगर प्रमुख प्रशान्त विष्टले ज्येष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि सहयोग गर्न आग्रह गरे ।
ज्येष्ठ नागरिकहरु चर्को गर्मी र चिसो मौसममा घण्टौंसम्म लामवद्ध हुँदा एकातिर सास्ती पाएको र अर्कोतर्फ बैंकको सेवा पनि प्रभावित हुने गरेको भन्दै वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आफूहरुको प्राथमिकतामा रहेको प्रमुख विष्टले बताए ।
नगरसँग पछि गाभिएका वडा नम्बर १३ देखि २३ वडासम्म पहिलो चरणमा कम्तिमा घुम्ती शिविर भए पनि सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाटै गर्नका लागि आवश्यक सहयोग उप–महानगरपालिका र वडा कार्यालयले गर्ने उनले बताए ।
आगामी आवदेखि वडाभित्र रहेको बैंकलाई नै सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्राथमिकता दिइने भन्दै विष्टले नगरका सम्पूर्ण वडामा बैंक पुगोस भन्ने चाहना रहेको र त्यसका लागि आवश्यक सहयोग र सहजिकरण गर्न तयार रहेको बताए । वडा कार्यालयबाट घरदैलोमै बैङ्किग सेवा दिने तर त्यसलाई निरन्तर गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाइ थियो ।
सो अवसरमा उप–प्रमुख कमरुद्दीन राईले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक तथा वित्तीय संस्थालाई उप–महानगरपालिकाबाट आवश्यक सहयोग गरिने बताए ।
सो अवसरमा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूहरु सकारात्मक रहेको बताए । यसका लागि केन्द्रीय कार्यालयबाट अनुमति लिने प्रक्रिया तत्काल सुरु गर्ने उनीहरुले बताए ।
कार्यक्रममा बैंकदेखि वडा कार्यालयसम्म रकम लिदा त्यसको सुरक्षा, बीमा, पहिचानमा कठिनाई जस्ता समस्यातर्फ ध्यानाकर्षण गराइएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, लेखा अधिकृत लोकेन्द्र रावत, अधिकृत प्रविन रानालगायतले सहजिकरण गरेका थिए ।