खजुराका महिला तथा बालबालिका बेचविखनको जोखिममा
Sunday, July 24th, 2022, 8:23 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा रहेका महिला तथा बालबालिका बेचविखनको जोखिममा रहेको पाइएको छ । खजुरा गाउँपालिकामा रहेको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिले खजुरा बेचविखनको उच्च जोखिममा रहेको जनाएको छ ।
आइतबार खजुरामा रहेको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण समितिले आयोजना गरेको सार्वजनिक छलफल कार्यक्रममा खजुराका १७ जना महिला तथा बालबालिका बेचविखनको जोखिममा रहेको जनाएको छ । मानव बेचविखनबाट पिडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक कार्यक्रममा खजुरा उच्च जोखिममा रहेको उत्त कार्यक्रममा जनाइयो ।
कार्यक्रममा १७ जनामध्य धेरै उजुरी नपरेको तर हराइरहेको खजुरा गाउँपालिका महिला बालबालिका शाखा प्रमुख शुसिला न्यौपानेले बताइन् ।
माइति नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले लुम्बिनी प्रदेशको बाँके र दाङ जिल्ला बेचविखनको प्रमुख जिल्लाका रुपमा पर्ने बताए । जसमा खोज तलासका लागि ७ सय १२ निवेदन परेकोमध्य २ सय ८५ जना फेला परेको माइति नेपालका संयोजक कोइरालाले जानकारी दिए । उनका अनुसार ६ सय १२ जना मध्य पनि बाँकेका १ सय ३१ जनाको खोजतलासको लागि निवेदन परेको थियो ।
निवेदन परेकोमा ४९ जना फेला परेको अन्यको सम्पर्क हुन नसकेको पाइएको छ ।
११ जनालाई भने उद्धार गरिसकेको माइति नेपाल नेपालगन्जले जनाएको छ । जसमा १८ वर्ष माथिका ४ जना रहेकोमा १८ वर्ष मुनिका बालिका ३ र बालक २ जना रहेका छन् । बाँकेका भने ५ जना रहेका छन् । कोहलपुरका १, बैजानाथको २, खजुराको १ र नेपालगन्जको १ रहेको कोइरालाले जानकारी दिइन् ।
खजुरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनिराम वलिले समस्याको जड पत्ता लगाएर निर्मुल पार्नेतर्फ ध्यान जान्पर्ने देखिएको बताए । वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारीले पुनस्र्थापनाका लागि खजुरामै व्यवस्थापन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता गरेका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले मानव वेचविखनको परिदृश्य हेर्दा चिन्ताजनक रहेको बताए । पालिकाले चेतनास्तर बढाउन सरोकारवालासँग समन्वय गरी कार्यक्रम संचालन गर्ने, खोजतलासलाई तीव्रता दिने, आवासिय विद्यालयहरुलाई उद्धार गरिएका बालबालिका राख्ने वातावरण मिलाउने, रोजगारीको पहिचान गरी रोजगार दिने काम पनि आगामि दिनमा संचालन गर्ने उल्लेख गरे ।