खजुरामा भूमि आयोग सेवा केन्द्रको उद्घाटन
Monday, July 25th, 2022, 3:37 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा राष्ट्रिय भूमि आयोग खजुरा गाउँपालिका सेवा केन्द्रको उद्घाटन गरिएको छ । भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न खजुरा गाउँपालिका वडा नम्बर ५ मा भूमि आयोग सेवा केन्द्रको उद्घाटन गरिएको हो ।
सोमबार राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष श्रमण कुमार यादव, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, उपाध्यक्ष मञ्जु मल्लले राष्ट्रिय भूमि आयोग सेवा केन्द्र खजुरा गाउँपालिका कार्यालयको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष यादवले सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समधान गर्न राष्ट्रिय भूमि आयोग सेवा केन्द्र खजुरा गाउँपालिका कार्यालयले उद्घाटन गरिएको बताए । यादवले अब आयोगले भूमि सम्बन्धी समस्या समाधान गरेरै छोड्ने बताए ।
यादवले अघिल्ला आयोगका अधुरा कामहरु समेत सम्पन्न गर्ने आयोगको काम रहने पनि प्रष्ट्याउँदै खजुरा गाउँपालिकामा बसोबास विवरण र तथ्यांक संकलन कार्य सम्पन्न भइसकेको बताए । उनले भूमिहिन सुकुम्बासीका साथ साथै जोतभोग र पूर्जामा समस्या भएका अव्यस्थित बसोवासीहरुको समस्या समाधानको काम थालिने जनाएका छन् । समस्या आएको ठाउँमा केन्द्रीय आयोग र सरकारको मन्त्री परिषद्सम्म प्रतिवेदन पठाएर समाधान खोजिने उनले बताए ।
कार्यक्रमका खजुरा गाउँपालिका अध्यक्ष बिकले आयोगलाई सहयोग र सहजिकरणका लागि गाउँपालिकाले आवश्यकता अनुसार कर्मचारी नियुक्त गरेर चाँडै विवरण र तथ्यांक संकलन कार्य अघि बढाइने बताए । उनले खजुरा गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न गाउँपालिकाले भूमिका सबैखाले समस्या एकसाथ समाधान गर्न प्रक्रिया अघि बढाइएको बताए ।
साथै खजुरा गाउँपालिकामा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी ५ हजार बढीको निवेदन पेस भएको अध्यक्ष बिकले जानकारी गराए । पेस हुना आएका निवेदन सम्बन्धि वडालाई छानबिन गरी काम अगाडि बढाउन पनि वडा अध्यक्षलाई खजुरा गाउँपालिका अध्यक्ष बिकले सुझाव दिए ।
विकले अव्यस्थित बसोवासीहरुको समस्या समाधानको काम पालिकाले दुर्तगतिमा गर्दै दशैभन्दा अगाडि नै लालपुर्जा वितरण गर्ने बताए ।
पालिका उपाध्यक्ष मल्लले अब भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेका खजुरावासीले चाडै न्याय पाउने बताइन् । उनले लामो समयदेखिको भूमि समस्यालाई समाधान गर्न पालिकाले हरसम्मत प्रयास गर्ने बताइन् ।
राष्ट्रिय भूमि आयोग खजुरा गाउँपालिका सेवा केन्द्रको फोकलपर्सन प्रशासन अधिकृत केशव बुढालाई जिम्मेवारी दिइएको छ ।
कार्यक्रमा सबै वडा वडाअध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।