विपीको स्मृतिमा खजुरामा बृक्षारोपण
Tuesday, July 26th, 2022, 4:48 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले गुटबन्दी नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले गुटबन्दी गरेर कांग्रेस बलियो नबन्ने भन्दै सबै नेता कार्यकर्ताहरुलाई बलियो र सुदृढ कांग्रेस बनाउनतर्फ लाग्न आह्वान गरेका छन् ।
नेपाली कांग्रेस खजुरा वडा नम्बर ३ कार्यसमितिले विपी कोइरालाको ४०औं स्मृति दिवसका अवसरमा मंगलबार आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले केन्द्रीय नेताहरु नै गुटबन्दीमा रमाइरहेको भन्दै त्यसो नगर्न आग्रह गरे । उनले संघ र प्रदेशको निर्वाचन निकट रहेकाले कांग्रेस जिताउने अभियानमा एकजुट भएर लाग्न आह्वान गरे । स्थानीय तहमा प्राप्त गरेको सफलता संघ र प्रदेशमा पनि हासिल गर्ने गरी लाग्न उनले आग्रह गरे ।
वडा नम्बर ३ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा गरिएको वृक्षरोपण कार्यक्रम वडा नम्बर ३ का सभापति शेषकान्त कंडेल उक्त कार्यक्रम गर्नसमेत केही व्यक्तिहरुले चलखेल गरेको बताए । उनले गुटउपगुटका कारण केही व्यक्तिले कार्यक्रममा सहमागी नहुनसमेत कांग्रेसका नेता कार्यकर्तालाई फोन गरेको बताए ।
कार्यक्रममा प्रजातन्त्र सेनानी हरिप्रसाद ढुंगानाले गुटउपगुटका कारण कांग्रेस कमजोर बन्दै गएको बताए । साथै उनले कार्यक्रम आयोजना गर्दासमेत गुटउपगुटका आधारमा गरिने गरिएको बताए ।
सभापति गौडेल प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण कुमारी सापकोटा, विशिष्ट अतिथि नेपाली कांगेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी, नेतृ उमा थापा मगर, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत अन्य नेता कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीले खानेपानीको कार्यालयभित्र आप, धुपी, सागुनलगायत विभिन्न जातका विरुवाहरु रोपेका छन् ।

.