भारतबाट हत्यारा बोलाएर भाई बुहारीको हत्या
Tuesday, July 26th, 2022, 5:26 pm
Kalpristha
कोहलपुर नगरपालिका वडा नम्बर १४ ओढारपुरमा मंगलबार बिहान एक दम्पत्तिको रहस्यमय तरिकाले हत्या भएको अवस्था उनीहरुको शव भेटियो । मृतक दम्पत्तिको शव उनीहरुकै घरमा भेटिएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले उक्त दम्पत्तिको हत्या भएको बताए ।
सोही ठाउँका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीय श्रीमती अञ्जली गडरियाको हत्या गरिएको थियो । मृतक कृष्णको शव मुखबाट रगत निस्केको र दायाँ हातमा चोट लागेको अवस्थामा घरको कोलियामा घोप्टो अवस्थामा भेटिएको थियो भने मृतक अञ्जलीको शव घरको बराण्डा उत्तानो अवस्थामा भेटिएको थियो । अञ्जलीको घाटीमा र हातमा चोट देखिएको छ ।
मंगलबार बिहान अबेलासम्म पनि उनीहरु नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनीहरुको सोमबार राती हत्या गरिएको थियो ।
प्रहरीका अनुसार हत्याको रात मृतक दम्पत्ति घरको कोठामा सुतेका थिए भने उनका दाई र भाउजु घरको घतमा सुतेका थिए ।
मृतक दम्पत्तिको एक वर्ष अघिमात्रै विवाह भएको थियो ।
१ लाख दिएर भाई बुहारीको हत्या
प्रहरीले मंगलबार बेलुकी ४ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे बताएको छ ।
मंगलबार बिहान घटनास्थलमा पुगेको प्रहरीको टोलीले घटनाको छानविन गर्दै मृतक दम्पत्तिको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाएको थियो । तपश्चात घटनाको वास्तविकता पत्ता लगाउन विभिन्न संयन्त्र परिचालन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
‘सुरुवाती चरणमै उनीहरुको हत्या नै भएको भनेर हामीले अनुसन्धान सुरु गरेको थियौं,’ मल्लले भने ।
त्यसपछि घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई नियन्त्रणमा लिइयो । जसमा मृतकका दाई, भाउजु पनि थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने भन्छन्, ‘घटनाको सुक्ष्म रुपले अनुसन्धान सुरु गर्दा हामीलाई केही व्यक्ति तथा शंकास्पद व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लियौं ।’
प्रहरीले घटनाको अनुसन्धानका क्रममा आफैं चकित पर्ने वास्तविकता बाहिर ल्याउन सफल भयो । प्रहरीको अनुसन्धानबाट मृतकका दाई, भाउजु नै हत्यामा संलग्न भएको पाइयो ।
प्रहरी नायब उपरीक्षक मल्लका कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट भारतबाट हत्यारलाई बोलाएर कृष्ण र अञ्जलीको हत्या गरेका थिए । उनीहरुको हत्या गर्नका लागि विजय र रेखाले भारतबाट दुईजना हत्यारालाई बोलाएका थिए । जसका लागि उनीहरुले हत्यारालाई ५०/५० हजार रुपैयाँ दिएको इलाका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार राती ११ बजेदेखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको थियो ।
हत्याअघि विजयले भारतीय हत्यारालाई मृतक कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर दिएको अनुसन्धानमा खुल्न आएको छ ।