कृषि मिटर जडानमा सास्ती भोग्दै किसान, खजुराका कर्मचारीले दुख दिएको आरोप
Tuesday, July 26th, 2022, 8:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १० साउन
सरकारी निकायका कर्मचारीका कारण किसानलाई कृषि मिटर पाउन समस्या हुने गरेको छ ।
कृषि मिटर जडानका लागि स्थानीय तहको वडा देखी पालिकाको कृषि शाखाको सिफारिस आवश्यक गर्ने गरेको छ । स्थानीय तहको सिफारिस पछि किसानले विद्युत कार्यालयमा गएर कृषि मिटर पाउने गरेका छन ।
तर खजुरा गाउँपालिकाको कृषि शाखाको कर्मचारीको कारण आफुले कृषि मिटरको सिफारिस नपाएको गुनासो गर्छन खजुरा गाउँपालिका २ गौघाटका हरि बहादुर बुढाक्षेत्री । कृषि शाखाका एक कर्मचारीले आफुलाई सिफारिसको नाममा दुख दिएको उनले बताए ।
हरीले कालपृष्ठ दैनिकसँग भने, ‘वडाबाट सिफारिस लिएर गाउँपालिका आए, त्यहाँ मिति कटिसकेको भन्दैं सिफारिस दिइएन । गाउँपालिका भएका कर्मचारीले किसानले सहयोग गर्ने हो पक्रिया नमिलेको बेला । तर उहाँहरुको व्यवहार पटक पटक किसानलाई दुख दिने जस्तो छ ।’
कृषि शाखाका कर्मचारीकारण उनले आवश्यक प्रक्रियाका लागि संकलन गरेको कागजात च्यातेर आएको बताए ।
यस विषयमा बुझ्दा खजुरा गाउँपालिका सुचना अधिकारी तथा योजना शाखा प्रमुख दिल बहादुर पौडेलले एक पटक रसिद काटेपछि एक वर्ष सिफारिसको लागि काम गर्ने बताए । तर पौडेलले भनेको कुरालाई मान्न भने सेवाग्राही तयार छैनन् ।
खजुरा गाउँपालिका २ निवासी हरीले उक्त घटनाको बारेमा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानलाई पनि जानकारी गराएको बताए ।
खजुरा गाउँपालिकाले पालिकाको समृद्धिका लागि कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । तर कृषि क्षेत्रमै पालिकाले सेवाग्राहीले पाइरहेको सास्तीको बारेमा ध्यान दिएको छैन ।
कृषि मिटर जडान गर्ने कृषकले पालिकाबाट मात्र होइन विद्युत कार्यालयबाट पनि यस्तै दुख पाउने गरेका छन । सिफारिस लिएर आइसकेपछि विद्युत कार्यालयमा आउँदा मिटर कहिले पाउने हो भन्ने जानकारी समेत हुन्न किसानलाई ।
नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्ज वितरण केन्द्रअन्तर्गत खजुरा नोलाइट बाँके शाखा कार्यालयमा विद्युत मिटर लिन आएका किसानहरुले सरकारी कार्यालयको कामकाज प्रति सन्तुष्ट छैनन । कार्यालयमा आउँदा आफनो काम सहजै नभएको गुनासो गर्छन् सेवाग्राहीहरु ।
खजुरा नोलाइटले खजुरासहित जानकी र बैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिँदै आएको छ । तर यस क्षेत्रका सेवाग्राहीले विद्युत् कार्यालयका कर्मचारीबाट अनावश्यकमा दुख पाउने गरेको गुनासो गरेका छन् ।
कृषि मिटर जडानमा अनावश्यक दुख दिने, कमिसन पाउने ठाउँमा छिटो छरितो गरी मिटर दिने र कृषि मिटर जडान गर्न आउने कर्मचारीले समेत नियम विपरित रकम माग्ने गरेको गुनासो कृषकहरुले गरेका छन् ।
सिफारिस लिएर आउँदा मिटर हुँदैन, मिटर हुँदा गाउँपालिकाबाट सिफारिस नपाएको गुनासो गर्छन किसान ।
खजुरा गाउँपालिका वडा नम्बर २ निवासी हरिबहादुर बुढाक्षेत्री विदेशबाट फर्किएका युवा हुन् । गाउँमै व्यवसायिक कृषि गर्ने सोचका साथ कृषि मिटर जडान गर्ने सोच बनाएका हरिले अहिले विद्युत् कार्यालय र खजुरा गाउँपालिका कार्यालय जान छोडेको कारण ।
हरीले कृषि मिटर जडान गर्ने इच्चा मार्नुको मुख्य कारण खजुरा नोलाइट शाखा कार्यालय र खजुरा गाउँपालिका कार्यालयका कर्मचारीको व्यवहार । उनले कार्यालयमा आउँदा पनि आवश्यक कागजात नमिलेको भन्दै आफुलाई खजुरा गाउँपालिकाका कर्मचारीले फर्काउने गरेको बताए । खजुरा गाउँपालिकाका कृषि शाखाका एक कर्मचारीले व्यवहार कारण आफुले दुख पाएको बताउँछन हरी बुढाक्षेत्री । खजुरा गाउँपालिका कृषि शाखा प्रमुख पुनम पोखरेलले आफु विदामा भएका कारण यस विषयमा थाहा नभएको बताइन ।
हरी एउटा उदाहरणीय पात्र मात्र हुन । यसरी सरकारी निकायमा विभिन्न वहानामा दैनिक सयौं सेवाग्राहीले झन्झटको सामना गर्नु परिरहेको छ । यस बारेमा कुनै पनि निकायले निरिक्षण गर्ने गरेको छैन ।
यसैगरी खजुरा नोलाइट बाँकेका कार्यालय प्रमुख कृष्ण पौडेलले भने आवश्यक कागजात पुगेकालाई दिने गरेको बताउँछन् । उनले भने,‘हामीसँग मिटर भएसम्म वितरण गर्ने गरेका छौं । सिफारिस लिएर आएकालाई मात्र कृषि मिटर दिने गरिएको छ । प्रक्रिया नपुगेकालाई कागजात मिलाएर आउन भन्ने गर्छाैं ।’ तर कार्यालयमा आउने सेवाग्राही भन्ने कार्यालय प्रमुखको भनाईसँग सहमति छैनन् । कार्यालयका कर्मचारी र फिल्डमा खटिने कर्मचारीलाई घुस दिएको अवस्थामा छिटै मिटर जडान हुने गरेको बताउँछन् ।
खजुरा गाउँपालिका–६ निवासी सोम सुनारले १८ महिना बित्दा समेत आफुले कृषि मिटर नपाएको गुनासो गर्छन् ।
खजुरा नोलाइट बाँकेमा हरेक वर्ष कति किसानले कृषि मिटरका लागि आवेदन दिन्छन भन्ने यकिन तथ्याङ छैन् । कार्यालयले समेत यसमा चासो दिएको छैन् । कति किसानले कृषि मिटर जडान गरेका छन भन्ने बारेमा स्पष्ट तथ्याङ छैन् ।
कृषि मिटर जोडिएका किसानले त्यसको सदुपयोग गरे नगरेको भन्ने बारेमा पनि निरिक्षण हुने गरेको छैन् । खजुरा नोलाइटले आर्थिक वर्ष २०७८÷०७९ मा भने आफ्नो क्षेत्राधिकार भित्र १ सय ४७ कृषि मिटर जडान गरेको बताएको छ । आगामी वर्ष यस कार्यालय अन्तर्गतका सेवा ग्राहीलाई कति कृषि मिटर आवश्यक पर्छ भन्ने तथ्याङक छैन् ।