खेलकुद पुर्वाधार निर्माण भ्रष्टाचार गरेको आरोप
Tuesday, July 26th, 2022, 9:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० असार
पाल्पा खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष करुणा काफ्ले, कार्यालय प्रमुख तारा बहादुर थापा सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप–पत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०७३–०७४ र २०७४–७५ मा फर्जी कागजात तयारी गरी भ्रष्टाचार गरेको उजुरी निवेदनलाई अनुसन्धान गर्दा भ्रष्टाचार गरेको भन्दैं अख्तियारले विशेष अदालन काठमाडौंमा मुद्दा दायर गरेको हो ।
पाल्पा स्थित रामपुर बहुउद्देश्यी कभर्ड हल निर्माणमा पाल्पा जिल्ला खेलकुद विकास समितिका तत्कालिन कार्यालय प्रमुख तारा बहादुर थापा, खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष करुणाले सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मा उल्लेख भएको प्रावधान विपरित डिपिआर जस्तो गहन तथा सुक्ष्म अध्ययन हुनुपर्नेमा सो नगरी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिसँग अति संक्षिप्त रुपमा परामर्श सेवा खरीद सम्झौता गरेको आरोप लागेको छ ।
डिपिआर पेश गरेपछि मात्र भुक्तानी दिनुपर्ने ९ लाख ९० हजार रुपैयाँ पहिले नै कार्यालय प्रमुखले भुक्तानी दिएका थिए । यसैगरी फिनेश इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिका प्रोप्राइटरले पेश गरेको झुठा विल भरपाईको आधारमा बदनियतपुर्वक काम गरेको भन्दैं त्यसका प्रोप्राइटर सन्देश पाण्डे र झपेन पाण्डे विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
उक्त कार्यमा संलग्नहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को देहाय(ङ) बमोजिम कसुर भएकोले तत्कालिन जिल्ला अध्यक्ष करणा, कार्यालय प्रमुख थापालाई ९ लाख ९० लाख हजार रुपैयाँ बिगो कायम गरी कारबाहीका लागि सिफारिस गरिएको छ ।