श्रीलंकालाई हराउँदै नेपालको लगातार दोस्रो जित
Wednesday, July 27th, 2022, 9:22 pm
Kalpristha
नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार भएको साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको हो ।
श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक–एक गोल गरेका छन् ।
पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले ५८ औं मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता बनाएको थियो ।

…..
अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे ।
खेलको ६५ औं मिनेटमा कृतिसले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा सुन्दर गोल गरे ।

त्यसपछि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३–० को जित दिलाए ।
जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।
श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो ।