नवौं राष्ट्रिय खेलकुदको तयारीमा हामी जुटिसक्यौंः सदस्य सचिव जयप्रकाश
Thursday, July 28th, 2022, 3:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ असार
प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भंटराईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्ने बताएका छन ।
सदस्य सचिव नियुक्त भएपछि पहिलो पटक बाँके, बर्दिया लगायतका जिल्ला भ्रमणमा आएका सदस्य सचिव भंटराईले पोखरामा हुने राष्ट्रिय खेलकुदमा उत्कृष्ट नतिजा निकाल्नको लागि तयारी सुरु गरिसकेको कालपृष्ठ दैनिकलाई बताए ।
उनले भने,‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा हामी जुटिसकेका छौं ।
राष्ट्रिय खेलकुद परिषदबाट तालिका प्राप्त हुनु बित्तिकै हामीले योजना बनाएर काम गरिरहेका छौं । अहिले जिल्लालाई त्यसमा सक्रिय बनाउने काम भैरहेको छ । प्रशिक्षण र प्रतियोगिताको बारेमा पनि तयारी भैरहेको छ ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखी कात्तिक ३ गते सम्म चल्नेछ । प्रतियोगितामा सात प्रदेश, तिन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र एनआरएन टिमको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ७ हजार खेलाडी १२ सय प्रशिक्षक र एक हजार निर्णायकको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतियोगिताको तयारी अहिले तिव्र गतिमा भैरहेको छ । यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता लुम्बिनी प्रदेशमा भएको थियो ।
आठौं राष्ट्रिय खेलकुद आयोजकको रुपमा प्राप्त गरेको अनुभव र उपलब्धले पोखरामा सफलता हासिल गर्न सहयोग गर्ने उनले कालपृष्ठ दैनिकलाई बताए ।
उनले थपे,‘आठौं र हालै सम्पन्न भएको १२औं राष्ट्रपति रनिङ शिल्डको सफलताले हामी उत्साही भएर तयारी गरिरहेका छौं । राष्ट्रिय खेलकुदको तयारीमा जुटनका लागी लुम्बिनी प्रदेशमा सम्पुर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक र आम नागरिकलाई सल्लाह र सहकार्यका लागि अनुरोध गर्दछु ।’