दाङबाट ४३ सय क्वीन्टल जडिबुटी निकासी
Thursday, July 28th, 2022, 6:33 pm
Kalpristha
लिलाधर वली
दाङ,१२ साउन ।
दाङबाट बितेको एक वर्षमा करिव साढे चार लाख किलो जडिबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार ९ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडिबुटी निकासी भएको छ ।
जिल्लाबाट ४ हजार ३ सय ८९ दशमलव ५ क्विन्टल जडिबुटी निकासी हुँदा सबैभन्दा धेरैमात्रामा टिमुर निकासी भएको छ । राष्ट्रिय वनबाट २९ हजार ५ सय ५० किलो र निजी वनबाट २ लाख १२ हजार १ सय ९२ किलो गरी जम्मा २ लाख ४१ हजार ७ सय ४२ किलो टिमुर निकासी भएको डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिृकत भक्तबहादुर चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार वन नियमावलीमा तोकिए अनुसार राष्ट्रिय वनको जडिबुटी संकलनको राजश्व लिने गरिए पनि निजी वनको जडिबुटी संकलनको राजश्व पूर्ण रुपमा छुट गरिएको छ । निजी वन क्षेत्रबाट उत्पादित जडिबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजश्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताए ।

राष्ट्रिय वनबाट विभिन्न १५ प्रकारका जडिबुटी संकलनको अनुमति दिइएकोमा निजी वन क्षेत्रबाट १३ प्रकारका जडिबुटी संकलनको अनुमति दिइएको थियो । जस अनुसार राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार ५ सय ५० किलो, रिठागेडी १६ हजार किलो, मालागेडी १४ हजार ५ सय किलो, तेजपात ७ हजार किलो, अमला ३ हजार किलो, बर्रो १ हजार ५ सय किलो, लहरे गुर्जो २ हजार ५ सय किलो, ब्राहमी एक हजार किलो र चुत्रो २ हजार किलो निकासी हुँदा ६ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन भएको डिभिजन वन कार्याल घोराहीले जानकारी दिएको छ ।
त्यसैगरी निजी वन क्षेत्रबाट पनि सबैभन्दा धेरै टिमुर निकासी भएको छ । जस अनुसार टिमुर २ लाख १२ हजार १ सय ९२ किलो, मालागेडी ५५ हजार २ सय किलो, रिठा ३२ हजार १० किलो, काउलो बोक्रा २९ हजार किलो, दालचिनी बोक्रा २७ हजार ४ सय किलो, तेजपात १८ हजार १ सय किलो, फलखोटो २ हजार किलो, पाषणवेद १ हजार ६ सय किलो, तिगेडी, कालिकाठ र चुत्रो १–१ हजार किलो, अमलवेद ६ सय ५० किलो र चिराईतो २ सय ५० किलो जुडिबुटी निकासी भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । पछिल्ला केही वर्षयता जिल्लाबाट जुडिबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको डिभिजन वन कार्यालय दाङका सूचनाअधिकारी खिमबहादुर केसीले बताए ।
जडिबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताहरुको आयआर्जनमा वृद्धि गर्ने गतबर्षदेखि जडिबुटी खेती गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको सहायक वन अधिकृत समेत रहनुभएका सूचनाअधिकारी केसीले बताएका छन् । ‘वनमा जडिबुटी खेती गरेर उपभोक्तालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले वन कार्यालयले जडिबुटी खेतीमा किसानलाई निशुल्क विरुवा वितरणदेखि विरुवा संरक्षण गर्नेलाई प्रतिविरुवा २० रुपैया दिने गरेको छ’,सूचनाअधिकारी केसीले भने,‘जसले गर्दा जिल्लामा जडिबुटी खेती गर्ने किसान बढ्दै गएका छन् ।’ उनका अनुसार यसबर्ष जिल्लाको करिव ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जटिबुटीका विरुवा रोपिएको छ ।