फूल उत्पादन बढ्दै बाँकेमा
Friday, July 29th, 2022, 11:28 am
Kalpristha
तेज बहादुर खड्का
नेपालगन्ज, बाँके
व्यवसायीरुपमा फूल खेती बाँकेका लागि रैथाने खेती होइन् । व्यवसायिक रुपमा राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यसतर्फ किसानको आकर्षण बढ्दो छ ।
दुई वर्ष अघिसम्मको कुरा गर्ने हो बाँकेमा व्यवसायीरुपमा फूल खेती गर्ने किसानको संख्या न्यून थियो । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० र कोहलपुर नगरपालिका वडा नम्बर ३ मा बाहेक अन्य स्थानमा फूल खेती गरिएको पाइँदैनथ्यो । तर फूल खेती गर्ने किसान बढ्दैछन् । बाँकेमा फूल खेतीमा आर्कषण जगाउने श्रेण जान्छ बिन्दु चर्तीमगरको परिवारलाई । उनले व्यवसायिकरुपमा पुष्प व्यवसाय गरेपछि थुप्रै महिला यसतर्फ लागेका छन् । पुष्प खेती गर्ने किसानको संख्या बढदै गएपछि बाँकेमा फूल उत्पादन पनि बढ्दै गएको छ ।
विशेष गरी दशंै र तिहारमा बढी फूलको माग हुने भएता पनि अन्य धार्मिक कार्य तथा कार्यक्रमहरुमा पनि फूलको माग हुने गर्दछ । साथै बाँकेमा फूलको माग बढ्ने क्रममा रहेको स्थानीय फूल उत्पादक एवम् पुष्प व्यावसायीहरु बताउँछन् ।
बाँकेमा फूल उत्पादन नभएता पनि प्रायजसो भारतबाट फूल आयात गरी यहाँका व्यापारीहरुले बिक्री गर्ने गर्दथे । हालको अवस्थामा पनि बाँकेमा धेरैजसो फूल भारतबाटै आउने गर्दछ ।
बजारको माग र फूल व्यावसायमा सम्भावना भएका कारण हाल बाँकेमा फूल उत्पादकको संख्या बढ्ने क्रममा रहेको पाइन्छ । जसमा सबैभन्दा धेरै सयपत्री फूल रहेको छ ।
गत वर्ष बाँकेमा व्यवसायीक रुपमा १ विघा क्षेत्रफलमा फूल खेती गरिएको थियो । जसमा नेपालगन्ज उप–महानगपालिका वडा नम्बर २० मा विन्दु चर्तीमगरले १० कट्ठामा, कोहलपुर नगरपालिका वडा नम्बर ३ मा विष्णु चौधरीले ५ कट्ठा र खजुरा गाउँपालिका वडा नम्बर ३ अरुणा गुरुङले १ कट्ठालगायतमा विशेषत सयपत्री फूलको खेती गरेका थिए । तर उक्त उत्पादनले बाँकेको बजारलाई धान्न सकेन ।
यो वर्ष उनीहरुले फूल उत्पादन बढाउन जग्गाको क्षेत्रफल पनि बढाएका छन् । विशेषगरी दशैं र तिहारलाई लक्षित गरेर उनीहरुले फूल उत्पादन बढाउन लागेका हुन् । यसका अलवा बाँकेका स्थानीय व्यक्तिहरुले पनि घरमा फूल उत्पादन गर्न थागेका छन् ।
लुम्बिनी फ्लोरी कल्चर एशोसियसन (लुफान) की उपाध्यक्ष समेत रहेको विन्दु चर्ती मगरले यो पटक १ विघा क्षेत्रफलमा फूल खेती लगाएकी छिन् । उनले नेपालगन्ज–२० मा १० कट्ठामा र खजुरा–१ सैनिकमा १० कट्ठामा ७ हजार सयपत्री फूलका विरुवा लगाएको मगरले बताइन् ।
त्यस्तै यो वर्ष उनले फूल उत्पादन गर्न तालिम दिएकी नेपालगन्ज–२० का महिलाहरुले पनि ५ कट्ठामा सयपत्रीका फूल लगाएका छन् ।
त्यस्तै लुम्बिनी फ्लोरी कल्चर एशोसियसन (लुफान) की सदस्यसमेत रहेकी चौधरीले कोहलपुर–३ मा १४ कट्ठामा ५ हजार सयपत्रीको फूल लगाएकी छिन् भने खजुरा–३ मा गुरुङलले २ कट्ठामा सयपत्रीको फूल लगाएकी छिन् ।
चर्तीमगर योपटक आफूले १५ क्वीन्टल फूल उत्पादन गर्ने बताउँछिन् भने चौधरी १० क्वीन्टल फूल उत्पादन हुने अनुमान गर्छिन् ।
तिहारमा प्रयोग हुने अर्को फूल भनेको मखमली फूल हो । जसको उत्पादन भने बाँकेमा धेरै नै कम रहेको छ । सरदरमा २ कट्ठामा योपटक मखमली फूलको खेती गरिएको छ ।
लुफानी उपाध्यक्ष चर्तीमगर यो वर्ष पनि फूल उत्पादनले बाँकेको मागलाई पूर्ति नगर्ने बताउँछिन् ।
गुलाबको शून्य उत्पादन
बाँकेमा गुलाब फूलको उत्पादन भने शून्य रहेको छ । जिल्लामा गुलाबको उत्पादन नभएता पनि यसको माग धेरै रहेको छ । जिल्लाका सबै पुष्प व्यवसायी भारतबाट नै गुलाबको फूल आयात गर्ने गर्छन् ।
गुलाब फूलको अत्याधिक माग हुने प्रेम दिवशमा त झन् जिल्लामा गुलाबको फूल पाउनै गाह्रो हुने गरेका व्यापारीहरु बताउँछन् ।
मगर भन्छिन्, ‘अहिलेसम्म बाँकेमा गुलाबको फूल उत्पादन हुन सकेको छैन । गुलाबको फूलका लागि पूर्णरुपमा भारतसँग निर्भर हुनु परेको छ । हामीहरु फूल नै मागअनुसार उत्पादन गर्न सकेका छैनौ भने गुलाबको फूल उत्पादन गर्नु त परको कुरा हो ।’