टी–२० क्रिकेट लिगको पक्ष बोल्यो बाँके जिल्ला क्रिकेट संघ
Friday, July 29th, 2022, 7:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ असार
टी–२० क्रिकेट लिग प्रतियोगिता आयोजना गर्न केहि व्यक्तिले बिरोध गरेको घटनाका विषय बाँके जिल्ला क्रिकेट संघले बिरोध जनाएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको आधिकारिक फ्रेन्चाइज टी–२० क्रिकेट लिग खेलाडी र क्रिकेटको लागि अति आवश्यक भएकोले त्यसको बिरोध नगर्न बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईले अपिल गरेका छन ।
शुक्रबार विज्ञप्ती जारी गर्दै बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष प्रसाईले व्यक्तिगत स्वार्थ र समूहगत स्वार्थका लागि विगत केहि समय देखी टी–२० क्रिकेट लिगलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पर्ने गरी भैरहेको नकारात्मक टिका–टिप्पणी गलत भएको भन्दैं त्यस्ता क्रियाकलापको नर्गन आग्रह गरेका छन ।
प्रतियोगिता नेपाल क्रिकेट संघको मात्र नभई प्रादेशिक, जिल्ला संघहरु, खेलाडी, प्रशिक्षक, अम्पायर, स्कोरर र खेलसँग सरोकार राख्ने मैदानका प्राविधिक कर्मचारीहरु लगायत क्रिकेटसँग सरोकार राख्ने पक्षहरुको व्यवस्थापन र आर्थिक क्षमताको विकास गर्ने सुनौलो परियोजना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) र नेपाल सरकारको मान्यता प्राप्त गरेपछि नेपाल क्रिकेट संघले सन् २०२२ को २४ सेप्टेम्बर देखी अक्टोबर २२ सम्म प्रतियोगिता आयोजनाको तयारी गरेको थियो । नेपाली क्रिकेटलाई व्यवसायीकरण र विकास तर्फ उन्मुख गराउने उद्देश्य सहित क्यानले प्रतियोगिता आयोजना गर्न लागेको हो । क्यान प्रतिबन्धमा रहेका बेला नेपालमा केहि कम्पनीले लिग प्रतियोगिता आयोजना गरेका थिए । तर पछि क्यानको निलम्बन फुकुवा भएपछि देशको ठुलो लिग प्रतियोगिता क्यानले गर्न पाउने गरी आइसीसीले अनुमती दिएको छ ।
तर केहि निजि कम्पनी र ब्यक्तिले त्यो निर्णयको बिरोध गरिरहेको बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष प्रसाईले कालपृष्ठ दैनिकलाई बताए । उनले भने,‘ टी–२० क्रिकेट लिग हुने खबरले हामी निकै उत्साही थियौं । यो नेपाली क्रिकेट र खेलाडीको भविष्यसँग जोडिएको छ । समग्र क्रिकेटको व्यवसायिक विकासलाई यसले प्रभाव पार्छ । तर यसको विरोध हुनु आफैंमा दुखदायी पुर्ण कुरा हो । यसको सबैले बिरोध गर्नु पर्छ । हामी क्यान र आइसीसीलाई आयोजनाको लागि आधार तयारी गरिदिएको धन्यवाद दिन चाहन्छौं ।’
उनले अगाडी थपे,‘ हामीलाई राजनितिसँग मतलब छैन । तर क्रिकेटलाई फाइदा हुने र खेलाडीलाई फाइदा हुने कुरामा हाम्रो समर्थन हुन्छ । लिग प्रतियोगिताको बिरोध गर्नु भएको क्यानको नेतृत्वलाई असफल बनाउने प्रयास हो । जुन क्रिकेटका लागि राम्रो कुरा होइन ।’