बाघको संख्या बढाउँदा गयो ५३ जनाको ज्यान
Friday, July 29th, 2022, 8:02 pm
Kalpristha
बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २५ पुगेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा बाघको संख्या सार्वजनिक गरिएको हो । सन् २०१८ को मतगणनापछि ४ वटा बाघको संख्या बाँकेमा बढेको छ ।
नेपालमा भने बाघको संख्या ३ सय ५५ पुगेको छ । नेपालले १० वर्षमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेको हो । १० वर्षमा ३ सय ५० बाघ पु¥याउने लक्ष्य रहेकोमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।
त्यसैगरी बर्दियामा १ सय २५, चितवनमा १ सय २८, पर्सामा ४१ र शुक्ला फाँटा निकुञ्जमा ३६ वटा बाघको संख्या पुगेको छ ।
यसअघि नेपाल सरकारले बाघ संरक्षणकालागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो ।
पूर्वमा शिवखोला, पश्चिममा कोहलपुर–सुर्खेत राजमार्ग, उत्तरतर्फ चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग यसको सीमाना रहेको छ ।
पछिल्लो दशकमा बाघको सख्या दुई गुणाले वृद्धि गर्ने संकल्प पूरा गर्ने नेपाल पहिलो देश बनेको छ । यसका साथसाथै नेपालमा अन्य वन्यजन्तु गैँडा र हात्तीको पनि संख्यामा वृद्धि भएको छ ।
तीन वर्षमा ५३ को ज्यान गयो
बाघको आक्रमणमा परी ३ वर्षमा ५३ जनाको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै बर्दियामा बाघले मानिसको ज्यान लिएको हो । त्यस्तै २७ जना भने घाइते भएका छन् ।
बाँके राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको आक्रमणबाट आर्थिक वर्ष २०७८/७९ मा ५ जना मारिए भने १ जना घाइते भएका छन् । यस्तै आर्थिक वर्ष २०७७/७८ मा २ जना मारिए भने २०७६/७७ मा बाघको आक्रमणबाट २ जनाको ज्यान गएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको आक्रमणमा परेर आर्थिक वर्ष २०७८/७९ मा ६ जना मारिए र ४ जना घाइते भएका छन् । यस्तै २०७७/७८ मा १२ जना मारिए भने ८ जना घाइते भए । आर्थिक वर्ष २०७६/७७ मा ५ जना मारिए भने ३ जना घाइते भएका थिए ।
बाघ आक्रमणका सबैभन्दा धेरै घटना बर्दियामा छन् । पछिल्लो तीन वर्षमा यस जिल्लामा २३ जनाको मृत्यु माघको आक्रमणबाट भएको छ । गम्भीर घाइतेको संख्या आधा दर्जन जति छ । बर्दियाको गेरुवा गाउँपालिका क्षेत्र बाघको आक्रमणका दृष्टिले उच्च जोखिममा छ ।
चितवन राष्ट्रिय निकुञ्ज आर्थिक वर्ष २०७८/७९ मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा १६ जना माएिर भने ७ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा ३ जना मारिए र ३ जना घाइते भएका थिए भने २०७६/७७ मा २ जना मारिएका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक जनाको ज्यान गएको छ भने पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट १ जना सख्त घाइते भएका छन् ।
बाघको आक्रमणबाट पशुधनको क्षतिभएका घटना पनि उत्तिकै छन् । जुन निकुञ्ज र मध्यवर्ती क्षेत्र बितेका तीन वर्षमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रहरूमा बाघले ८ सय १९ वटा पशुमाथि क्षति पु¥याएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको तथ्यांकअनुसार, २०७६/७७ मा १७५, २०७७/७८ मा ३०६ र २०७८/७९ मा यो संख्या ३३८ पुगेको छ । सबैभन्दा बढी घरपालुवा पशुमा क्षति बर्दिया निकुञ्ज आसपासमा भएको छ । बर्दियामा २०७६/७७ मा ९५ वटा, २०७७/७८ मा १४१ वटा, २०७८/७९ मा १७२ वटा घरपालुवा जनावरलाई बाघले आक्रमण गरेको देखिन्छ ।
बाँके राष्ट्रिय निकुञ्जका ४० वन्यजन्तुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न कारणले ५१ वन्यजन्तुको मृत्यु भएकोमा ४० वन्यजन्तुको सडक दुर्घटनामा परी मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।