प्रतिलिटर १६ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य
Monday, August 1st, 2022, 7:12 pm
Kalpristha
इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल ९१५९ लिटर कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०३ डलरमा कारोबार भइरहेको छ । गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रति ब्यारेल १२३ डलरभन्दा धेरै थियो । त्यो बेलाको भाउभन्दा अहिले करिब २० डलर कम भइसकेको छ ।
यसैअनुसार आइओसीले सोमबार नेपाललाई नयाँ मूल्य पठाएको छ । निगमका अनुसार सोमबार प्राप्त मूल्य सूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले अहिलेसम्म दुई पटक मूल्य घटाएर पठाएको छ ।
१५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । त्यो समयमा भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन ।
यो पटक पनि नेपाली बजारमा घटाउनेबारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल किन्दैन । आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्छ ।
सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।