गिरिराज उपचारमा गौघाटको सहयोग
Monday, August 1st, 2022, 8:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ साउन
ब्लड क्यान्सर रोगबाट पिडित बालक गिरिराज श्रेष्ठलाई सोमबार खजुरा गाउँपालिका वडा नम्बर २ का युवाहरुको टिमले आर्थिक सहयोग गरेको छ ।
खजुराबाट रोजगारीको सिलसिलामा विदेश गएका युवाहरुले गठन गरेको ‘हाम्रो गौघाट हामी आफैं बनाउ’ भन्ने अभियानले संकलन गरेको रकम गिरिराजका बुबा विकास श्रेष्ठलाई प्रदान गरेको हो ।
अभियानका सल्लाहकार एवम् समाजसेवी तेजविक्रम शाह, कालपृष्ठ दैनिकका सम्पादक एवम् गौघाट निवासी कमल खत्री, खजुरा गाउँपालिका वडा नम्बर २ का वडा सदस्य लक्ष्य बहादुर ओलीले संयुक्त रुपमा युवाहरुले संकलन गरेको २ लाख ८५ हजार ५ सय रुपैयाँ विकासलाई हस्तान्त्रण गरे ।
खजुरा गाउँपालिका वडा नम्बर २ स्थित गौघाटमा भएको कार्यक्रममा गिरिराजको उपचारमा सहयोग गर्ने उद्देश्यले संकलन गरिएको अन्य रकम पनि हस्तान्त्रण गरिएको थियो ।
योगिनी मावि गौघाटबाट उठेको १० हजार ३५, गौघाटका स्थानीयले उठाएको ७२ हजार रकम प्रदान गरिएको थियो ।
यसैगरी श्रेष्ठको उपचारमा केशव निरौलाले कतारबाट सहयोग गरेको ४५ हजार ३ सय ४७ रुपैयाँ, रोशन खड्काको पहलमा कतारबाट ८८ हजार ३ सय ६९, दुबईबाट भुपेन्द्र बस्नेतको नेतृत्वमा १ लाख ३१ हजार ४ सय ८५ रुपैयाँ पनि सहयोग गरिएको थियो ।
अभियानका संस्थापनक इन्द्र खत्रीले ब्लड क्यान्सर रोगको उपचार महँगो भएकोले आर्थिक रुपमा थोरै भएपनि सहयोग गर्ने उद्देश्यले आर्थिक संकलन अभियान मार्फत सहयोग गरिएको बताए ।
गौघाटमा गरिएको आर्थिक संकलनमा कर्ण बहादुर विसी, पाण्डव थापा, फत्त बहादुर खड्का, राज कुमार सुनार, गगाराम ओली, पुर्णकली खत्री, श्याम बहादुर श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।
अभियानका सल्लाहकार तेजविक्रम शाहले खजुरा गाउँपालिकामा गौघाटका युवाहरुले मानवीय सेवा गरेर समाजमा राम्रो सन्देश दिएको बताए । उनले भने,‘यो अभियानमा साथ र सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिन चाहन्छु । समस्या परेको बालकको उपचारमा आर्थिक सहयोग गर्न पाउनु धर्मको कुरा हो । यसले समाजमा राम्रो सन्देश दिएको छ । आगामी दिनमा गौघाटका युवाहरुले अन्य सामाजिक कार्यमा सहयोग जारी राख्न आग्रह गर्दछु ।’
कोहलपुर नगरपालिका वडा नम्बर १४ हवलदारपुर निवासी विकास श्रेष्ठका चार वर्षिय छोराको भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी इन्स्च्युट एण्ड रिर्सच सेन्टर अस्पतालमा उपचार भैरहेको छ ।