कस्ले गर्ने महेन्द्रमा छात्राबासको व्यवस्थापन
Tuesday, August 2nd, 2022, 5:16 pm
Kalpristha
गत मंगलबार नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसले क्याम्पसमा रहेको १ नम्बर छात्रावासमा विद्यार्थीहरुलाई बस्ने निषेध गर्दै सूचना जारी गर्यो । यो सूचना छात्रावासमा बस्ने विद्यार्थीका लागि पहिलो भने होइन । उनीहरुलाई मौखिकरुपमा धेरै पटक सो छात्रावासमा बस्न निषेध गरिएको थियो ।
क्याम्पसले जारी गरेको सूचनामा विद्यार्थीलाई सो छात्रावासमा बस्न निषेध गरिनुका साथै सो छात्रावासमा हुने कुनै पनि घटनाप्रति क्याम्पस जवाफदेही नहुने जनाएको छ । महेन्द्र बहुमुखी क्याम्पस प्रमुख लालमणि आचार्यले जारी गरेको सो सूचनामा ‘यस क्याम्पसका छात्रावासहरु जिर्ण प्राय रहेकोले यी छात्रावास भवनमध्ये १ नम्बर छात्रावास अत्यन्त जीर्ण अवस्थामा रहेकोले कुनै पनि बेलाभत्किन सक्ने हुँदाउक्त छात्रावासमा कुनै विद्यार्थीहरु नबस्न सूचना जारी गरिएको छ । यदि कुनै विद्यार्थीले यो सूचनालाई ब्यवास्ता गरी बसेको अवस्थामा पछि कुनै दुर्घटना हुन गएमा क्याम्पस प्रशासन जवाफदेही नहुनेसमेत सोही सूचनाद्वारा जानकारी गराएको छ’ । तर सो छात्रावासमा बसेका विद्यार्थी भने अन्य कुनै विकल्प नभएका कारण आफूहरु १ नम्बर छात्रावासमा बस्न बाध्य भएको बताए ।
क्याम्पस प्रमुख आचार्य उक्त भवन जिर्ण भएकोले विद्यार्थीलाई बस्न निषेध गरिएको बताउँछन् । उनी भन्छन्, ‘१ नम्बर छात्रावासको अवस्था नाजुक । त्यहा बस्न जोखिम छ । त्यसैले विद्यार्थीलाई बस्न निषेध गर्दै सूचना जारी गरेको हो ।’
सो छात्रावासको हालको अवस्था भने दयनिय रहेको छ । भवन पुरै जिर्ण अवस्थामा पुगेको छ । छतबाट ईट्टा तथा कंक्रिट खसिसकेका छन् । छात्रावासको दिवाल पनि जिर्ण बन्दै भएको छ । छात्रावासमा रहेका झ्याल, ढोकाहरु पनि जिर्ण छन् । विद्यार्थीहरु बसेका कोठाहरुको छतमा पनि प्रस्टै ढलान गर्न प्रयोग गरिएका भित्री सरियाहरु देख्न सकिन्छ ।
यसरी एकातिर जिर्ण बन्दै गएको १ नम्बर छात्रावासमा क्याम्पसले बस्न निषेध लगाउन र अर्कोतर्फ जोखिम मोलेर छात्रावासमा बस्न विद्यार्थी बाध्य भएको अवस्था महेन्द्र बहुमुखी क्याम्पसमा देख्न सकिन्छ । अब उनीहरुलाई छात्रावासको व्यवस्थापन कस्ले गर्ने ?
पहिलो कुरा त १ नम्बर छात्रावासमा बस्ने प्राय जुम्ला, सल्यान, बागलुङलगायत बाहिरी जिल्लाका छन् । अर्को महेन्द्रमा १ नम्बर छात्रावास बाहेक अन्य छात्रावास पनि छन् । सो छात्रावासमा पनि विद्यार्थीहरु बस्ने गर्छन् । अन्य छात्रावासमा क्याम्पसका गैर विद्यार्थी पनि बस्ने गरेको १ नम्बर छात्रावासमा बसेका विद्यार्थीहरु बताउँछन् ।
महेन्द्र क्याम्पस विविएस प्रथम वर्षमा अध्ययनरत बागलुङका एक विद्यार्थी आफूलाई सूचनाको बारेमा जानकारी भए तर बाध्यताले बस्नु परेको बताउँछन् । उनी भन्छन्, ‘अरु विकल्प पनि छैन सर । बाहिर कोठा लिएर बस्नसक्ने आर्थिक अवस्था पनि नभएकाले यही बसिरहेको छु ।’ उनी क्याम्पसमा रहेको अन्य छात्रावासमा आफूलाई व्यवस्थापन गरो भन्ने चाहन्छन् ।

छात्रावासमा नबस्न महेन्द्र क्याम्पसले निकालेको सूचना
उनले भने, ‘२ नम्बर र अरु होस्टेलमा भएका बाहिरी विद्यार्थीलाई क्याम्पसले हटाउन सकेको छैन । उनीहरुलाई हटाएर हामीलाई त्यहा व्यवस्थापन गर्नु पर्ने हो ।’
उनी जस्तै क्याम्पसमा वि.ए दोस्रो वर्षमा अध्ययनरत सल्यानका अर्का विद्यार्थी पनि क्याम्पसले छात्रावासको व्यवस्थापन गर्न नसकेको गुनासो गर्छन् । उनीहरु क्याम्पसको छात्रावासमा रहेको गैरविद्यार्थीलाई क्याम्पसले हटाएर आफूहरुलाई व्यवस्थापन गर्नु पर्ने बताउँछन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस इकाई अध्यक्ष चक्र रावत पनि छात्रावासमा गैर विद्यार्थीहरु बसेको बताउँछन् ।

क्याम्पसको निरीक्षणमा नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टसहितको टोली
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पनि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको अलपत्र अवस्थामा रहेको छात्राबासलाई पूर्णता दिनका लागि पहल अघि बढाएको बताएका छन् । नगर प्रमुख विष्टको पहल र समन्वयमा भारतीय राजदुताबासका शाखा अधिकृत चन्द्रप्रकाश नेतृत्वको टोलीले बिहीबार अलपत्र अवस्थामा रहेको छात्राबास र क्याम्पसका जीर्ण भवनको स्थलगत अनूगमन गरेको थियो ।
सो अवसरमा भारतीय दुताबासका शाखा अधिकृत चन्द्र प्रकाशले दुताबासको सहयोग भए पनि भवन निर्माण कार्य अलपत्र परेकोमा भारत सरकार दु:खित भएको बताए ।
निर्माण व्यवसायीको कमजोरीका कारण डिग्री भवन र छात्राबास भवन अलपत्र भएको भन्दै उनले छात्राबासको पूर्णताका लागि पुन: लागत स्टिमेट तयार गरि दुताबासको सम्पर्कमा आउन आग्रह गरेका छन् ।
क्याम्पस नेपालगन्जका प्रमुख लालमणि आचार्यले क्याम्पसमा रहेका जीर्ण भवन निर्माण तथा छात्राबासलाई पूर्णता दिनका लागि नेपालगन्ज उप–महानगरपालिका र भारतीय दुताबास समक्ष माग गरिएको जानकारी दिए ।
उसोत क्याम्पसको छात्रावासमात्रै नभएर अरु भवन पनि जिर्ण बन्दै गएका छन् । महेन्द्र विद्यालयको उत्तर तर्फको भवनबाहेक बाँकी सबै भवन पुराना हुन् । यी भवनहरु २०२२ सालमा राजा महेन्द्रको पालमा बनेका हुन् । यसरी हेर्दा ती भवनहरु ५७ वर्ष पुराना भएको देखिन्छ ।
क्याम्पसको दक्षिणतर्फ रहेको भवन पनि अस्वोभाविक घटना घट्ने पर्खाइमा रहेको देख्न सकिन्छ । उक्तभवनमा रहेका कक्षाकोठा र बरण्डाको माथिल्लो भागहरु धेरैजसो जिर्ण भएर खसिसकेका छन् । भवनको छत बनाउन प्रयोग गरिएको भित्री सरियाह प्रष्टै देख्न सकिन्छ । यि भवनहरुमा वर्षातको समयमा पानी पनि चुहिने गर्दछ ।
संघीय आयोजना कार्यान्वयन इकाईले पनि क्याम्पसमा रहेको भवनहरु पूर्णरुपमा जिर्ण भएको निस्कर्ष निकालेको छ ।