साढे ६ लाखको अवैध सामग्री बरामद
Tuesday, August 2nd, 2022, 7:52 pm
Kalpristha
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गर्दै भन्सार छली गरेर नेपालगन्ज ल्याइएका ठुलो परिमाणमा साढे ६ लाख रुपैयाँ बढीका विभिन्न सामाग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा गएको टोली र सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण केसीको कमाण्डको टोलीले आज दिउँसो १ देखि ३ बजेको समयमा नेपालगन्जको चौलिका चोक, घरबारी टोल र एक लाइने बजारबाट भन्सार छली गरेर ल्याइएका ६ लाख ५० हजार २५२ रुपैयाँ बराबरका ठुलो परिमाणमा लेडिज ब्रा, कागतीसहितको मोटरसाइकल , तरकारीसहितको अटोरिक्सा, हार्डवेयरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार नेपालगन्जका अवैध नाकाबाट लुकिछिपी गरेर नेपालगन्ज ल्याउँदै गरिएका अवैध सामाग्री मध्ये नेपालगन्जको चौलिका चोकबाट सशस्त्र प्रहरी नायब निरीक्षक केसीको टोलीले टोलीले जुटको बोरामा कागतीसहित भारतीय मोटरसाइकल बरामद गरेको हो ।
त्यस्तै सशस्त्रको सोही टोलीले नेपालगन्जको एकलाइनी बजारबाट तरकारीका बोरासहितको अटोरिक्सा र नेपालगन्जको घरबारी टोलीबाट हार्डवेयरका सामग्री र ठुलो परिमाणमा लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।
बरामद गरिएका सबै ६ लाख ५० हजार २५२ रुपैयाँ बराबरका अवैध सामग्री तथा बस्तुलाई आजै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।
बाँकेको सीमा नाकामा अवैध तस्करीविरुद्ध कडाईका साथ लाग्न सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको निर्देशन अनुसार सशस्त्र प्रहरीले बाँकेका सबै नाकामा अवैध ओसारपसारविरुद्धको अभियानमा लाग्दै दैनिक लाखौं रुपैयाँको सामग्री बरामद गर्दै आएको छ । सशस्त्र प्रहरीले सिमा नाकामा गरेको कडाईसँगै तस्करहरुको मनोबल नै खस्किसकेको छ ।
नेपालगञ्ज नाकामा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
कोहलपुर नगरपालिकाका दिपेश सुनाम परियार र नारायण बुढथापा ८ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
भारतबाट भे ३ प २७६२ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले मोटरसाइकलमा लुकाएर ब्राउनसुगर ल्याएका थिए । नेपालगञ्ज नाकामा रहेको लागु औषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।