भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा
Tuesday, August 2nd, 2022, 8:12 pm
Kalpristha
नेपाल भलिबल संघको अध्यक्ष पदमा निरोज मास्केले उम्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै संघकी वर्तमान उपाध्यक्ष मास्केले चुनावी घोषणापत्र सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
मास्केले उम्मेदवारी घोषणा कार्यक्रममा नेपालको भलिबल विकासको विविध एजेण्डा र कार्यक्रमसमेत प्रस्तुत गरेकी छिन् । उनले भलिबलको पूर्वाधार विकासदेखि कार्यक्रम, प्रशिक्षण, प्रोत्साहन र प्रशासनीक सुधारको कार्यक्रमलाई अघि सारेकी छिन् । उनले नेपाली भलिबलको व्यवसायीकता र संस्थागत विकासका लागि नेतृत्वमा दाबी गरेको बताईन् ।
उनले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौं सहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
उनले संघीय सरकारदेखि प्रदेश हुँदै स्थानीय तहसँग सहकार्य गर्ने र नीजि क्षेत्र सहित विभिन्न रणनीतिक साझेदारलाई भलिबल खेलको विकाससंग जोड्ने एजेण्डा अघि सारेकी छिन् । भलिबललाई विद्यालय तहदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म जोड्नेदेखि चार वर्षमा चार लाख नेपालीलाई भलिबलको प्रत्यक्ष सञ्जालमा जोड्ने महत्वकांक्षी एजेण्डा उनले प्रस्तुत गरेकी छिन् ।
भलिबल विकासका लागि पाँच ‘प’ मा आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै मास्केले प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनीक सुधारमा केन्द्रित रहेर अघि बढ्ने बताएकी छिन् ।
मास्के नेपाल भलिबल संघको वर्तमान कार्यसमितिकी उपाध्यक्ष हुन् । कार्यसमिति सदस्यको रुपमा १६ वर्ष अघि संघमा प्रवेश गरेकी उनले एक कार्यकाल कोषाध्यक्षको रुपमासमेत काम गरेकी छिन् ।
कार्यक्रममा प्रदेश नम्बर एकका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सुदूरपश्चिम प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक सिंह, संघका पूर्व अध्यक्ष दानबहादुर तामाङले संघको आसन्न नेतृत्वमा मास्केलाई समर्थन रहने खुलाए ।
नेपाल भलिबल संघको केन्द्रिय निर्वाचन भदौ २२ गते काठमाडौंमा हुँदैछ । सोही निर्वाचनलाई लक्षित गर्दै मास्केले एक महिना अघिनै नेतृत्वमा उम्मेदवारी घोषणा गरेकी हुन् ।