बाँकेमा ‘ए प्लस’ १ सय १४ विद्यार्थीले ल्याए
Wednesday, August 3rd, 2022, 5:49 pm
Kalpristha
बाँकेमा एसईई परीक्षाको नजिता यो वर्ष केही खस्केको जस्तो आयो । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले साउन ११ गते सार्वजनिक गरेको परीक्षाअनुसार यो वर्ष बाँकेमा ३.६ देखि ४ (ए प्लस) ल्याउने विद्यार्थीको संख्या १ सय १४ मात्रै देखयो ।
परीक्षा बोर्डका अनुसार देशभर ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ मात्र रहेको छ । सो संख्या बाँकेबाट एसर्ईई दिने विद्यार्थीको संख्या जति हो ।
शिक्षा विकास तथा समन्वय इकाई जिल्ला शिक्षा कार्यालय बाँकेका शाखा अधिकृत उद्धवप्रसाद श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा धेरै २.० देखि २.४ जीपीए (सि प्लस) ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ६३ रहेको छ ।
त्यसैगरी ३.२ देखि ३.६ जीपीए (ए) ल्याउने विद्यार्थीको संख्या ७ सय ३१, २.८ देखि ३.२ जीपीए (वि प्लस) ल्याउने विद्यार्थीको संख्या १ हजार २ सय ८४, २.४ देखि २.८ जीपीए (वि) ल्याउने विद्यार्थीको संख्या १ हजार २ सय ७१ जनाले ल्याएका छन् ।
त्यस्तै १.६ देखि २.० जीपीए (सि) ल्याउने विद्यार्थीको संख्या २ हजार १ सय, १.२ देखि १.६ जीपीए (डि प्लस) ल्याउने विद्यार्थीको संख्या १ हजार ४ सय १९ र ०.८ देखि १.२ जीपीए (डि) ल्याउने विद्यार्थीको संख्या १ सय ४० रहेको शाखा अधिकृत श्रेष्ठले जानकारी दिए ।
साथै हाल बाँकेबाट १ सय ४५ जनाले ग्रेड वृद्धिको लागि निवेदन दिएका छन् ।
देशभरको नतिजा हेर्ने हो भने ३ हजार २ सय ८० विद्यार्थीको जीपीए ०.८ देखि १.२, १.२ देखि १.६ जीपीए लयाउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६, १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५ सय ९४, २.० देखि २.४ जीपीए एक लाख १२ हजार ७३३, २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५ सय ९८, ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए र ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६ सय २७ रहेको छ ।
२ सय ६५ विद्यार्थीको नतिजा आएन
बाँकेबाट यो वर्ष एसईई परीक्षामा लागि जम्मा ९ हजार १ सय ५९ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २ सय ६५ जना विद्यार्थीको नतिजा आएको छैन । शिक्षा कार्यालयका अनुसार उनीहरुको परीक्षा नतिजामा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले गएल ‘अप्सेण्ड’ सूचिकृत गरेको छ ।
यसरी रोकिएको नतिजा परीक्षा बोर्डले भदौ ५ गते अगावै प्रकाशन गर्नु पर्ने हुन्छ । किनकी ग्रेड वृद्धिका लागि भने भदौ ५ गतेसम्मको अन्तिम म्याद तोकिएको छ ।
शिक्षा कार्यालयका इकाई प्रमुख रामसुरेश यादव रोकिएको नतिजा साउन मसान्तसम्म आउने बताउँछन् । उनले भने, ‘रोकिएका नतिजा साउन मसान्तसम्म प्रकाशन हुनु पर्ने हो । यदि रोकिएको नतिजा प्रकाशन पश्चात उनीहरुमध्ये कसैले ग्रेड वृद्धिको लागि निवेदन दिन सक्ने भएकाले साउनभित्रै नतिजा आउछ ।’
परीक्षा दिएका विद्यार्थीको गएल ‘अप्सेण्ड’ कसरी हुन्छ भन्ने प्रश्नमा यादव भन्छन्, ‘कपि चेकजाँच गर्ने बेलामा पहिला कपि चेक हुन्छ र मार्कलिप हुन्छ । पछि कम्प्युटरमा चढाइन्छ । सो समयमा मार्कलिप गर्ने बेला वा कम्प्युटरमा चढाउन बेलमा मिस्टेक भएर पनि अप्सेण्ड देखाउछ । कहिलेकाँही सिम्बोल नम्बर, रजिष्ट्रेशन नम्बर नमिलेर पनि अप्सेण्ड देखाउछ ।’