कोहलपुरमा सुस्तायो हरित नगर अभियानः “फोहोर फाल्न प्रयोग गरिदैं गमला”
Sunday, May 21st, 2017, 8:56 am
amit
संगिन शर्मा
कोहलपुर- कोहलपुर नगरपालिका कार्यालय स्थापना भएसँगै कोहलपुरमा एउटा विषयले निकै चर्चा बटुल्यो । नगरपालिकाको कार्यकारी पद सम्हाल्न कोहलपुर आईपुगेका गोबिन्द पाण्डेले कोहलपुरवासीलाई सुनौलो सपना देखाए ।
कोहलपुरलाई “देशकै उत्कृष्ट हरित नगर” बनाउने सपना देखाएका पाण्डेलाई कतिपयले शंकाको दृष्टिकोणले हेरेपनि अधिकाशंले भने आशाको केन्द्रका रुपमा लिएका थिए । नगरवासीलाई नौलो सपना देखाएका पाण्डेले कोहलपुरमा नियमित रुपमा सरसफाई अभियान संचालन गरे ।
मासिक रुपमा सरसफाई सभियान संचालन गर्दै आएका पाण्डेलाई स्थानिय संघसंस्था, सुरक्षानिकाय तथा सर्वसाधारणले समेत साथ दिने क्रम बढिरहेको थियो । त्यसकै फलस्वरुप नेपाल सरकारले देशभरबाट कोहलपुरलाई हरित नगरको लागि सिफारिस गर्दै १ करोड बढि रकम बिनियोजित ग¥यो ।
यस अर्थमा पाण्डेले देखाएको सपना केही हदसम्म पुरा हुने लक्षण देखिएपनि त्यसलाई कार्यान्वयन गर्ने चुनौति भने कायमै थियो ।
प्रदुषण रहित हरित नगरका लागि सरकारी स्तरबाट ठुलो लगानी भित्रिएको कोहलपुरमा अभियान संचालन गर्नु आफैमा चुनौतिपूर्ण थियो । नगरलाई स्वच्छ राख्नका लागि नगर क्षेत्रभित्र रुख, बिरुवा लगाउने ठाउँको अभाव अर्को समस्याका रुपमा देखाप¥यो ।
राजमार्ग क्षेत्र वरपर बृक्षारोपणका लागि ठाउँ अभाव भएपछि कृतिम गमला राख्ने निर्णय भयो । कार्यकारी अधिकृत पाण्डेको सरुवा भएपछि बिचमै रोकिएको अभियान संचालनका लागि केही समय लागेपनि नगरपालिकाको प्रयासमा कोहलपुर–नेपालगञ्ज सडक खण्डको दाँया बाँया गमला राखी साना प्रजातीका फुल तथा रुखहरु रोप्ने कार्य भयो ।
ठुलो रकम खर्चिएर गमलामा फुलहरु रोपिएको भएपनि अभियानले सार्थकता भने पाउन सकेको छैन । कोहलपुर नगरपालिका कार्यालयले गमला खरिद गरि कोहलपुरलाई हरित नगर बनाउने अभियान संचालन गरेपनि हाल अधिकाशं गमलाहरु प्रयोग बिहिन भएका छन ।
यकाध प्रयोगमा आएका गमलाहरुमा लगाईएका फुलहरु समेत पानी तथा गोडमेल अभावका कारण सुक्न थालेका छन ।
सडक किनारमा राखिएका गमलाहरु मध्ये आधा बढि फुटेका छन भने कतिपयले डस्विनको रुपमा गमलालाई प्रयोग गर्दै आएका छन । यसरी राष्ट्रिय महत्वका साथ लगानी गरिएको अभियान बालुवामा पानी जस्तै भएको छ ।
पछिल्लो समय अभियानका नाममा हुने गतिबिधीहरु समेत ठप्प प्राय भएका छन । कर्तब्यबाट भाग्ने नगरवासी र जिम्मेवार निकायको लापरवाहीका कारण पाण्डेले देखाएको सपना विचमै तुहिएको छ ।