पीपी कोइरालाका तीन लघुकथा
Friday, August 19th, 2022, 4:07 pm
Kalpristha
अनुरोध
आजभन्दा ३०/४० बर्ष पहिलेको कुरा हो। त्यस गाउँमा बर्षै पिच्छे बाढीले क्षति पुर्याउँथ्यो ।
त्यसपछि टाठाबाठा गाउँलेहरु मिलेर नदीको किनारमा तार जाली बिछ्याए ।
पानी सुके पछि नम्मरी जग्गाधनीहरुले नदीलाई अझै मिच्दैमिच्दै ठुलठुला बिल्डिङहरु पनि बनाए ।
अब त्यो नदी सानो खहरे खोलोमा परिणत भयो ।
बिल्डिङहरु बनेपछि र ठुलठुला बाटाहरु पनि बन्दै गएपछि त्यो खोलो चेप्टिएर सानो कुलो जस्तो देखिन थाल्यो ।
उता दस पन्द्र बर्षमै त्यो गाउँ शहर जस्तो विकसित भैसकेको थियो ।
एक्कासी अस्ति राती त्यस ठाउँका सबै बासिन्दाहरु चिच्याउन थाले ।
“बगायो ! बगायो ! “
“ए भाग ! भाग ! “
“ला ! ला ! ला !! भत्काई हाल्यो नि ! “
“ ए छोरा लाई ! बगायो बगायो ! तान तान “
“ गुहार ! गुहार ! “
“हाम्रो त सब्बै भाँडाकुँडा बगायो “
भोलिपल्ट विहानै पुराना रैथाने बुढाहरु
पनि त्याहाँ आएका थिए । उनीहरुले मनमनै भने, “यो कुलो त्यसै उर्लेको होइन ! आजका ठिटाहरुलाई के थाहा ! “
मिटिङ मा उनीहरुले पनि बाढीको क्षतिपूर्ती माग गर्न जाने भनी गरेको निर्णयमा सहिछाप गरे ।
तर अघिल्लो राती नै ती सबै बुढाहरुले एकै समयमा एउटै सपना देखेछन् ।
सपनामा एउटी परी जस्ती सुन्दर वच्चीले नमस्ते गर्दै भनिछिन्
“बा ! मलाई पनि हिँड्ने बाटो चाहिन्छ भनि मागि दिनु है ।“
बाटो
सुनिल सदाझैँ आजपनि मौन बसिरहेको थियो । श्रीमतिले पाँच छ पटक चिया सेलायो भनिसकि । तर अझै उ एकोहोरिएर भित्तामा हेरिरहेको थियो । एक घण्टापछि सुनिलले सेलाएको चिया एकै पटकमा सट्टै पियो र जुरुक्क उठेर बाटो तिर लाग्यो । अनि निकैबेर एकटकले बाटो हेरिरह्यो । त्यस बाटोको अन्तिम छोर सम्म हेरेर मनमनै सोच्यो,“के यो बाटो त्यहीँ टुङ्गिने हो र ?“अनि मुसुक्क हाँस्दै भान्सा भित्र पस्यो र श्रीमतिलाई भन्यो–“म तीन महिनालाई शहर जाँदैछु, सीमा ।“
लोग्ने एकोहोरिएको देखेर सारै पीर मानेकी सीमालाई अब लोग्नेले शहरमा कमाएर उनीहरुको सानो खेत बारी लिलाम हुन बाट जोगाउने पो भए कि भन्ने लागेर आयो । उ खुशी न खुशी भई । अनि उसले सहमति जनाउँदै भनि ,“हुन्छ ! तर आफ्नो राम्ररी ख्याल गर्नुहोला । “
तीन महिना पछि रातको १२ बजे तिर सुनिल शहरबाट घर आयो।सिमाले ढोका खोल्ने बित्तिकै श्रीमतिलाई पैसाको ब्याग राख्न दिदै भन्यो,“ पच्चीस लाख छ । सबैजना साहुको तिर्न पुग्छ ।“
यो सुनेपछि त सीमाको खुशीको सीमा रहेन ।
उ फुरुङ्ग हुँदै उठेर भन्न थाली,“ आहा ! तीनै महिनामा मेरा सारा चिन्ता समाप्त गरिदिनु भो हजुरले । जम्मा दसलाख ऋणको ब्याज बढेर दुई बर्षमै पच्चीस लाख पुगेको थियो, बल्ल ढुक्कले सास फेर्न पाइने भो ।“अनि भान्साबाट दूध तताएर ल्याई ।“तर म फेरि भोलि विहानै शहर जाँदैछु नि सिमा । तिमिले आफ्नो ख्याल गर्नु है । “ यति भनेर सुनिल निदायो । सिमा पनि आनन्दले निदाई ।
तर भोलिपल्ट विहानै त्यस घरमा त प्रहरिको भ्यान पो आइपुग्यो ।
“हेलो मिनिस्टर“
दिनेश ड्राइभर लाई बाटैमा गाडि रोक्न लगाएर सरासर मंत्रालयको गेट सम्म पुग्यो । दुई जनाले उसलाई सल्युट हान्दै भित्र लगे । एकैछिनमा उ बाहिर आयो ।
र गाडिमा बस्यो । ड्राईभरले
नबोलिकन गाडि चलाईरह्यो । अचानक उसको फोन बज्यो । नम्वर चिनेन । फुर्सदै थियो त्यसैले फोन उठायो ।
उताबाट –“हेलो मिनिस्टर ! “
दिनेश–“हजुर“
उताबाट–“तपाईँको आज ५ वटा हस्ताक्षर गलत ठाउँमा परेको छ । त्यो तुरुन्त बदल्नुहोस, नत्र त्यस सम्झौताले देशलाई खरबौ नोक्सान हुन्छ ।“
दिनेश,–“तपाईं को हँ? काँ को, के को हस्ताक्षर, के को सम्झौता ?“
उताबाट,“ मेरो परिचय नखोज्नुहोस,म तपाईँहरु सबैको निगरानीमा खटिएको सूक्ष्म कर्मचारी हुँ । तपाईं अहिले अनामनगरबाट डिल्लिबजार
हुँदै पूर्व दिशा
जाँदै हुनुहुन्छ ।हो कि होइन ?“दिनेश,–“हो हो । तर किन मलाई नै
यसरी पछ्याएको ?“
दिनेश,“तपाईँलाई मात्र हैन । हामी यसरी नै अरु सबै राष्ट्र सेबक कर्मचारी, र जनप्रतिनिधि, प्राईभेट कम्पनि आदिलाई चाल्नामा राखेर छान्न र इमान्दार देशभक्तहरुको मात्र समूह बनाउन शुद्धिकरणमा खटिएका छौं । सिसि क्यामरा देशभरि कुनाकुनामा लगाको छ“
दिनेश,“हुन्छ हुन्छ ।म रिभ्यु गर्छु ।“
दिनेशले हतार हतार फोन राख्यो ।
उ डरले लगलग काँप्न थाल्यो । अनि मनमनै सोच्न थाल्यो,
“नेपाल यस्तो पो भैसकेछ ।हैन कैले
देखि यत्रो सिस्टममा आयो ? यस्तो जानेको भए त म मन्त्रीको सपथै लिने थिईन ।“
फेरि फोन बज्यो । त्यहि अघिको नम्बर । उसले रिसले काटिदियो । तत्कालै अर्को नम्वरबाट रिङ आयो । उसले उठायो ।
उताबाट,“हेलो मिनिस्टर ! “
दिनेश,“हजुर“
उताबाट,“हामीले खटाएको सूक्ष्म कर्मचारीको फोन किन काटेको ? “
दिनेश,“ हैन फेरि तपाईँ को ?“
उताबाट,“म कर्मचारी शुद्धिकरण केन्द्रबाट सूक्ष्म कर्मचारिहरु लाई खटाउने अध्यक्ष हुँ । तपाईँले देशप्रति गद्दारि गर्दै २० लाख कमिसन लिएर त्यो
५ ठाउँ गरेको हस्ताक्षर हामीले सबै रेकर्ड गरिसकेका छौं । तपाईं ढिट हुनुहुँदो रहेछ ।आज
कि सबै कागज मगाएर सम्झौता रद्द गरि राजिनामा दिनुस, कि
जेल जाने तयारी गर्नुस ।“
दिनेश “हुन्छ ! हुन्छ ! म कागज मगाएर रद्द गर्छु । राजिनामा पनि दिन्छु । तर प्लिज यो खबर बाहिर नजाओस ।“
उसले अतालिँदै ड्राइभरलाई
भन्यो,“छिटो अघि पसेको मंत्रालयमा पुर्याउ “
अनि सोच्न थाल्यो,“के अचम्म ! कुन निकाय यसरी सक्रिय भयो हँ ? भका सबैलाई त मैले चिनेकै हो । एकाएक
नेपालमा के हुन आँटो हँ ?“
ड्राईभरले गाडि रोक्यो ।
भित्रबाट अघिकै दुईजना आए र सल्युट हान्दै भित्र लगे ।
उ भित्रबाट मधुर मुस्कान छोड्दै बाहिर निस्क्यो र
गाडीमा बस्यो ।
ड्राईभरले डराउँदै सोध्यो,“के गर्नु भो र यति
खुशी हुनु भो हजुर “
दिनेश“ शुद्धिकरण केन्द्रका अध्यक्ष नै मलाई पर्खिरहेका रहेछन् नि । आफ्नो भाग पाएपछि त मलाई छोडिहाले त्यसैले ढुक्कले हाँसेको “