बाल बिकास केन्द्रको सिकाई दिगो बनाउन क्षमता अभिबृद्धि तालिम
Saturday, August 20th, 2022, 3:58 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा संचालित प्रारम्भिक बाल बिकास केन्द्रको सिकाईलाई प्रभावकारी बनाउन संचालन गरिएको तीन दिने क्षमता अभिबृद्धि तालिम शुक्रबार सकिएको छ । बाल बिकास केन्द्रका सहजकर्ताहरुको क्षमता अभिबृद्धि र सिकाई सन्दर्भ सामाग्री निर्माणका लागि गत बुधबारदेखि तीन दिने सिकाई सामाग्री निर्माण र प्रयोग सम्बन्धि क्षमता बिकास तालिम संचालन गरिएको थियो ।
तालिममार्फत सहजकर्ताहरुले आवश्यक शैक्षिक सिकाई सामाग्रीको निर्माण गरेका छन् भने दिगो सिकाई बिकास गर्न उक्त सामाग्रीको प्रयोग गर्ने ज्ञान तथा सीप आर्जन गरेका छन् । खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक कृष्णा पोखरेल बि.क, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, प्राबिधिक सहायक निर्मल रेग्मी र स्याक नेपालका कार्यसमिति सदस्य कृष्ण गिरीको उपस्थितिमा तालिमको समापन गरिएको थियो ।
बाल बिकासको जग बलियो भएपछि मात्र माथिल्लो कक्षाको शैक्षिक स्तर मजबुत हुने शिक्षा शाखा प्रमुख मल्लले बताए । खजुरामा प्लान इन्टरनेशल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजनामार्फत शैक्षिक सुधारका लागि आवश्यक गतिबिधि संचालन हुँदै आएको छ । सोही गतिबिधि अन्तर्गत नै या तालिम समेत संचालन गरिएको हो ।
गत बुधबार गाउँपालिका अध्यक्ष डम्बर बिकले उद्घाटन गरको तालिमलाई सेतो गुराँस राष्ट्रिय बाल बिकास सेवाकी प्रशिक्षक झलक कुमारी कार्कीले सहजीकरण गरका थिए । तालिममा खजुरा गाउँपालिकामा संचालित जनसेवा मा.बि, जनकल्याण आ.बि, ज्ञानोदय मा.बि, भानु मा.बि, रजनवा प्रा.बि, ने.रा.आदर्श डि गाउँ, अम्बेमाता प्रा.बि, जनकल्याण मा.बि र बसन्तापुर प्रा.बिमा संचालित बाल बिकास केन्द्रका सहजकर्ताहरु सहभागि भएको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिए ।