सुर्खेतको जन नमुनाले नियम विपरित शुल्क लिएको आरोप
Saturday, August 20th, 2022, 6:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
सुर्खेत, ४ भदौं
सुर्खेत विरेन्द्रनगर नगरपालिकाको जन नमुना माविले नियम विपरित विद्यार्थीबाट भर्ना शुल्क लिएपछि अनुसन्धानको घेरामा तानिएको छ ।
अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयले विद्यार्थी भर्ना गर्दा बिल नदिएर उठाएको दुई लाख छयात्तर हजार छ सय नब्बे रुपैयाँ र अन्य कागजात नियन्त्रणमा लिएको छ ।
विरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ स्थित जन नमुना माविले गत साउन २६ गते ११ कक्षाको प्रवेश परीक्षाको नतिजामा उत्तिर्ण विद्यार्थीबाट रकम उठाएको थियो ।
जुन नेपालको संविधान, उच्च अदालत सुर्खेतले जारी गरेको अन्तरिम आदेश विपरित छ ।
विद्यार्थी भर्ना गर्दा बिल समेत नदिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले विद्यालयबाट बिना रसिद विद्यार्थीबाट लिएको रकम र कागजात नियन्त्रणमा लिएको थियो ।
नेपाल सरकारले निशुल्क घोषणा गरेका अन्य सामुदायिक विद्यालयहरुले समेत बिना रसिद विभिन्न नाममा विभिन्न कक्षाहरुमा शुल्क असुल गरिरहेको भन्ने उजुरीको बारेमा अनुसन्धान भैरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका छन ।