नाकाक्षेत्रमा सधै स्वास्थ्य समस्या
Saturday, August 20th, 2022, 7:00 pm
Kalpristha
लिलाधर वली
घोराही, ४ भदौ
नेपाल–भारत सिमाक्षेत्र अन्तर्गत दाङ जिल्लामा पर्ने नाकाबस्तीहरुमा स्वास्थ्य सेवा नहुँदा स्थानीयले अकालमा ज्यान गुमाउने गरेका छन् । सिमाक्षेत्र अन्तर्गत राजपुर गाउँपालिकाका विभिन्न नाका बस्तीहरुमा बसोवास गर्ने नाकावासीहरुले स्वास्थ सेवाका लागि सास्ती पाउने गरेका छन् । उनीहरुले सामन्य विरामी हुँदा सिटामोल समेत पाउन नसक्ने अवस्था रहेको छ । नाकामा विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा झाडापखालासँगै अन्य विरामीहरु र डेलीभरीका लागि समेत समस्या हुने गरेको छ ।
नाकाक्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा नहुदा उपचारका लागि राजपुर वा गढवा स्वास्थ्य चौकी आउनुपर्ने कि तँ भारतीय बजार जानुपर्ने बाध्यता नाकावासीलाई रहेको छ । आफ्नै गाउँपालिकामा रहेको स्वास्थ्यचौकी आउन पनि भारतीय टाढाको लामो भारतीय बाटो भएर आउनुपर्ने बाध्यताका कारण कतिपय नागरिकको अकालमा ज्यान समेत जाने गरेको छ । त्यही मध्यकी एक हुन, ७ बर्षीय सम्झना परिवार । राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरी निवासी–७ वर्षीया परियारले विहिवार साँझ झाडापखालाका कारण ज्यान गुमाएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायाले जानकारी दिएका छन् । झाडापखालाका कारण विरामी परेकी सम्झनाको मृत्यु भएको संयोजक रोकायाले बताए ।
….
‘दुसित पानी र सरसफाइमा ध्यान नदिदा गाउँमा झाडापखाला फैलिएको रहिछ’,स्वास्थ्य शाखा संयोजक रोकायाले भने,‘समयमै उपचार पाएको भए बचाउन सकिन्थ्यो होला । तर उपचार नपाउँदा एक बालिकाको मृत्यु हुनपुग्यो ।’ उनका अनुसार भैसाही नाकामा आधारभूत स्वास्थ्य सेवा इकाइ भएपनि उपचारका लागि गाउँबाट दुई घण्टा हिड्नुपर्ने भएकाले स्थानीयलाई सेवा लिन समस्या रहेको बताए ।
स्वास्थ्य शाखा संयोजक रोकायाका अनुसार गाउँमा झाडापखाला फैलिएको खवर पाएपछि गाउँपालिकाबाट विहिवार साँझ नै डक्टरसहितको स्वास्थ्य टोली कोइलावास नाका हुँदै भारतीय बाटो भएर उपचारका लागि भैसाहीनाकास्थीत पलानगौरी पुगेको थियो । उक्त टोलीले उपचार गरेपछि अहिले पूर्ण रुपमा झाडापखाला नियन्त्रणमा आएपछि उपचारका लागि नाका पुगेको टोली फर्किएको संयोजक रोकायाले बताए । उनका अनुसार झाडापखालाका कारण १७ जना विरामी भएपनि गम्भीर अवस्थामा रहेका ९ वर्षीया अस्मिता बुढा, २८ वर्षीय लालमति परियार, उनकी ३ वर्षीया छोरी सपना परियारको अवस्थापनि अहिले सामान्य भैसकेको जानकारी दिएका छन् ।
नाका क्षेत्रमा स्वास्थ्यको पहुँच बढाउन सडक सञ्जाल महत्वपूर्ण रहेको भन्दै उनले बर्षादको समयमा सहज रुपमा उपचारका लागि स्वास्थ्य चौकी आउन सक्ने वातावरण बनाउनका लागि आफुले ध्यान दिइरहेको बताए । ‘नाकावासीलाई सहज रुपमा स्वास्थ्य सेवाका लागि सडक सञ्जालको विकास हुन आवश्यक छ । तर अहिले सानो बर्षादका कारण पनि सडकहरु बन्द हुने गरेका छन्’, स्वास्थ्य शाखा संयोजक रोकायाले भने,‘सानो बर्षादका कारण बन्द हुने सडकहरुलाई १२ है महिना हिड्न सक्ने बनाउन सके नाकावासी जनतालाई सेवा दिन सहज हुने थियो ।’
गाउँपालिका अन्तर्गत २२ वटा नाकाहरुमा बस्ती रहेपनि केही नाकाहरुमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । स्वास्थ्य सेवालाई प्रवाहकारी बनाउने प्रयास भएपनि भौगोलिक विकटताका कारण समस्या हुने गरेको उनले बताए ।