चुनावी दौडमा उत्रदैं हरित अभियन्ता
Monday, August 22nd, 2022, 8:36 pm
Kalpristha
कमल खत्री
डा. विनोद कर्ण सामाजिक क्षेत्रमा सक्रिय युवा हुन् । पेशाले चिकित्सक भएपनि नेपालगन्जमा सरसफाई र हरित अभियानमा उनको नाम अग्रपंक्तिमा आउँछ । सामाजिक मुद्दामा निडर भएर लाग्ने विनोदले मंसिर ४ गते आउँदै गरेको प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपालगन्जलाई सफा, सुन्दर र हरित बनाउने अभियानको सुरुआत कर्ता हुन विनोद । सामाजिक मुद्दाबाट जनतामा लोकप्रिय बन्दै गएका विनोदले दोस्रो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्ने हिम्मत गरेका छन् ।
सोमबार पत्रकार सम्मेल गर्दै उम्मेदवारी घोषणा गरेका विनोदले सुरुआतमा आफनो प्रमुख एजेन्डा युवालाई रोजगारी, सुन्दर र सफा नगर रहेको बताए ।
आफु जन्मिएको सहरमा थुप्रै समस्या भएपनि त्यसलाई समाधान गर्ने नेतृत्वले अपेक्षा गरेअनुसार काम गर्न नसकेको बताउँछन डा. विनोद ।
उनी भन्छन,‘हामीले अहिलेको व्यवस्था परिवर्तन होइन अवस्था परिवर्तन गर्ने हो । सुशासन र विकासको गतिलाई लयमा ल्याउन जरुरी छ ।’
‘ग्रीन एन्ड क्लिन नेपालगन्ज’ विनोदको नेतृत्वमा सुरु भएको अभियान हो । जसले १ सय ९७ हप्ता नेपालगन्जको विभिन्न स्थानमा सरसफाई र हरियाली सृजना गर्ने काम गरेको छ ।
५४ वर्षीय प्लाष्टिक सर्जन विनोदले २२ वर्ष चिकित्सा पेसामा काम गरेका छन् । सह–प्रध्यायपक विनोदले ११ वर्षदेखी नेपालगन्ज मेडिकल कलेजमा काम गर्दै आएका छन । त्यसअघि सुस्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंमा आठ वर्ष उनले काम गरेका थिए ।
पेसाले चिकित्सक भएपनि जनताको समस्याको बारेमा आवाज उठाउने बानी र त्यसलाई समाधान गर्ने चाहनाका कारण राजनितिमा आएको बताउँछन उनी । त्यसका लागि अब उनले नेपालगन्ज मेडिकल कलेजको जागिर पनि छोड्ने तयारी गरेका छन् । चुनावमा जे–जस्तो नतिजा आएपनि सामाजिक मुद्दा आफनो पहिलो प्राथमिकतामा रहने उनले घोषणा गरे ।
यसअघि २०७४ सालको निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट प्रदेश सभा सदस्यमा चुनाव लडेका थिए । तर त्यतिबेला उनले सोचेजस्तो सफलता हासिल भने गर्न सकेनन् । उनले ५ सय ८३ मत प्राप्त गरेका थिए । उनले प्रतिस्पर्धा गरेको दौडमा नेपाली कांग्रेसका सुरेन्द्र हमालले जित हासिल गरेका थिए । पहिलो हारबाट भने उनी कत्ति पनि आत्तिएका छैनन् । पुन हिम्मतका साथ उनी चुनावी प्रतिस्पर्धाका लागि तयार भएको बताउँछन् ।
पार्टीबाट चुनाव लड्दा थुप्रै समस्या र बाध्यताहरु भएकोले स्वतन्त्रबाट उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।
विनोदले चुनाव घोषणा गरेको बाँके क्षेत्र नम्बर २ ‘ख’ मा नेपालगन्जको १४ वटा वडाहरु पर्छ । १ देखी १२ नम्बर वडा, १४ र १५ नम्बर वडा उनको क्षेत्रमा पर्छन । त्यहाँको जनसंख्या यसअघि ४६ हजारको हाराहारीमा थियो । अहिले केहि जनसंख्या बढेको छ । उनले आफनो चिकित्सक करियरमा ५२ हजार प्लाष्टिक सर्जरी गरेका छन । त्यसमा ३२ हजार नेपालगन्जको रहेको उनको भनाई छ । डा. विनोदलाई आफुले उपचार गरेका धेरै परिवारका सदस्यले आफुलाई मत दिने उनी बताउँछन ।
सोमबार उम्मेदवारी घोषणा कार्यक्रममा आफना परिवारका सदस्य र केहि युवाहरुको साथ प्रस्तुत भएका विनोदले नेपालगन्जको भविष्यलाई परिर्वन गर्नको लागि आफुलाई मत दिन आवहन गरेका छन । सोमबार पत्रकार सम्मेलनमा विनोदको हौसला बढाउन उनकी श्रीमति मनिषा पाण्डे, उनका दाई शिक्षाविद्ध रबिन्द्र कर्ण, ससुरा बुबा राम बहादुर पाण्डे लगायत परिवारका सदस्यहरुको उपस्थित रहेको थियो ।
बाँकेमा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने कर्ण तेस्रो व्यक्ति हुन भने बाँके क्षेत्र नम्बर २ ‘ख’ मा उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति हुन ।
यसअघि बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा दिवाकर खनाल र प्रदेशसभा सदस्यमा ‘क’ मा राजकुमार रौनियारले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालका प्रमुख राजनिति दलका निम्ति स्वतन्त्र उम्मेदवार अहिले चुनौति बन्ने निश्चित छ । प्रमुख राजनिति दलप्रति जनताको वितिष्णाका कारण स्वतन्त्र उम्मेदवारहरु नागरिकको आकर्षण बढ्दो छ । जसका कारण विनोदको उम्मेदवार बाँके क्षेत्र नम्बर २ (ख) मा ‘अन्डरडग’ साबित हुन सक्नेछ मंसिर ४ गतेको निर्वाचनमा । उनको उम्मेदवार बाँकेको राजनितिमा भने एउटा स्पष्ट सन्देश दिएको छ, सामाजिक सेवा गर्ने युवाले नेतृत्वमा प्रतिस्पर्धा गर्न सक्छन । त्यसका लागि राजनिति दलनै आवश्यक पर्दैन, आफनो एजेन्डा र जनताको सेवामा लाग्ने हिम्मत, आट र साहस भए पुग्छ ।