बिमा रकमको लोभमा टिप्परमा आगजनी
Tuesday, August 23rd, 2022, 4:46 pm
Kalpristha
दाङमा प्रहरीले नेपाल बन्दको नाममा आफ्नो टिप्परमा आगजनी गर्ने टिप्पर धनिसहित चालक र सहचालकलाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका विभिन्न पार्टीहरुले आव्हान भएको बन्दका क्रममा बिमा रकमको लोभमा टिप्परमा आगजनी गर्नेहरुलाई पक्राउ गरेको हो ।
नेपाल बन्दका क्रममा मंगलवार विहान ५ बजेतिर घोराही–लमही सडक खण्ड अन्तर्गत गोग्लीबाट लमहीतर्फ जादै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा आगजनी भएको थियो ।
बन्दकर्ताहरुले टिप्परमा आगजानी गरेको भन्ने सूचना प्राप्त गरेपछि खटिएको प्रहरीले टिप्पर धनी, चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पुरानो विग्रिरहने टिप्परमा बिमा रकमको लोभमा सवारीसाधन धनिको सहमतिमा चालक र सहचालकले आगजनी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् । ‘घट्ना बारेमा प्रहरीले अनुसन्धान गर्दा टिप्पर धनिको सहमतिमा चालक र सहचालकले बन्दको मौका छोपेर आगजनी गरेको देखियो’, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक गौतमले भने,‘त्यसपछि टिप्पर धनि, चालक र सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौ ।’

बिमा रकमको लोभमा आगजनी गरिएको टिप्पर ।
प्रवक्ता गौतमका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ निवासी टिप्पर धनि ४३ बर्षीय धनेश्वर भण्डारी, राप्ती गाउँपालिका–८ पिपरिया निवासी ३२ बर्षीय चालक अरुण चौधरी र गढवा गाउँपालिका–७ चन्दनपुर निवासी १७ बर्षीय सह–चालक आकाश चौधरी रहेका छन् । ‘टिप्परमा आगजानी भएको खवर प्राप्त भएपछि टिप्पर धनी, चालक र सहचालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी धनीको सहमतिमा बिग्रेको टिप्परमा आगजानी गरेको पुष्टि भएको छ’,प्रवक्ता गौतमले भने,‘आगजनीको पुष्टि भएपछि पक्राउ परेका व्यक्तिहरुमाथि अपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरेर थप अनुसन्धान भैरहेको छ ।’
प्रहरीले पक्राउ परेका तीनै जनालाई मंगरवार पत्रकार सम्मेलन गरेर सार्वजनिक छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक गौतमका अनुसार मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद २१ को दफा २५३ को उपदफा १ र २ बमोजिमको परिभाषित कसुरमा मुद्धा दर्ता भएको छ ।
पक्राउ परेकालाई १ वर्षसम्म कैद र दश हजार रूपैयासम्म जरिवाना हुने काुननी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।