स्वास्थ्य शिक्षाको स्तर बढाउँदैं नेपालगन्ज हेल्थ क्याम्पस
Wednesday, August 24th, 2022, 9:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ भदौं
नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले जनताले स्वास्थ्य सेवा सर्वसुलभ र सहज रुपमा पाउने अधिकारलाई स्थापित गर्न स्वास्थ्य शिक्षाको महत्वपुर्ण भुमिका रहने बताएका छन् ।
बुधबार नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थीले आयोजना गरेको स्वागत तथा विदाई कार्यक्रममा मेयर विष्टले गुणस्तरीय प्राविधिक शिक्षा समाजको प्रमुख आवश्यकता रहेको बताए । पश्चिम नेपालमा स्वास्थ्य शिक्षाको क्षेत्रमा नेपालगन्ज हेल्थ क्याम्पसले हासिल गरेको सफलतालाई सम्मान गर्दै मेयर विष्टले आगामी दिनमा थप सफलताको लागि शुभकामना दिए । क्याम्पसले स्वास्थ्य शिक्षाको स्तर बढाउन योगदान गरेको उनले बताए ।
नेपालगन्ज हेल्थ क्याम्पस १६ वर्ष अघि स्थापना भएको थियो । कलेजले सुरुआतदेखी स्वास्थ्य शिक्षाको क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गर्दै आएको छ । मेयर विष्टले नयाँ आउने विद्यार्थीलाई नेपालगन्ज नगरमा स्वागत गर्दै पुराना विद्यार्थीलाई थप उज्जवल भविष्यको कामना गरे । उनले भने, ‘हाम्रो समाजमा प्राविधिक शिक्षा अति आवश्यक छ । प्राविधिक शिक्षाले सीप, रोजगारसँगैं मानिसको जीवन बचाउन महत्वपुर्ण भुमिका खेल्ने भएकोले अरु भन्दा स्वास्थ्य शिक्षा विशेष छ ।’
नेपालगन्ज हेल्थ क्याम्पसले आफनो भौतिक पुर्वाधारमा हरेक वर्ष दक्ष विद्यार्थी उत्पादन गरेर राज्यलाई सहयोग गरिरहेको विष्टले बताए ।
कार्यक्रममा डिप्लोमा इन फार्मेसीको पहिलो वर्षमा उत्कृष्ट हुने विद्यार्थी प्रमेश्वर थारु र ल्याब तर्फ उत्कृष्ट हुने निरुता थारुलाई मेयर विष्टले मेडल र प्रमाणपत्र सहित सम्मान गरेका थिए । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि विष्टलाई नेपालगन्ज हेल्थ क्याम्पसका प्रबन्ध निर्देशक एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा विद्याथीहरुले विभिन्न सांस्कृति प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । नेपालगन्ज हेल्थ क्याम्सपले सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा, रोजगारको अवसर बृद्धि, तालिम प्राप्त योग्य सक्षम जनशंक्ति उत्पादन गर्ने र स्वास्थ्य उद्यमशिलताको विकास गर्ने उद्देश्य सहित काम गरिरहेको प्रिन्सिपल प्रभाकर मिश्राले बताए ।
कार्यक्रममा नेपालगन्ज हेल्थ क्याम्पसका प्रबन्ध निर्देशक मैकुलाल वाल्मिकीले विद्यार्थी, शिक्षक, कर्मचारी र सहकर्मी साथीहरुको मिहिनेतले कलेजले थुप्रै सफलता हासिल गरेको बताए । उनले भने, ‘नौ जना विद्यार्थी लिएर कलेज स्थापना भएको थियो । अहिले हरेक वर्ष नयाँ ७० जना विद्यार्थी आउने र पुराना विद्यार्थी विदाई हुने गरेको छन् । हामीले स्वास्थ्य शिक्षाका क्षेत्रमा गुणस्तीय विद्यार्थी उत्पादन गर्नेसँगै ५ करोड भन्दा बढी रकमको छात्रवृत्ति प्रदान गरिसकेका छौं । यसले पनि नेपालगन्ज हेल्थ क्याम्पसले शिक्षाको क्षेत्रमा कति योगदान गरेको छ भन्ने प्रष्ट पार्छ ।’
क्याम्पसले आगामी दिनमा नेपालगन्जमा पहिलो पटक आयुर्वेदिक चिकित्सा सेवाको सुरुआत गर्ने तयारी गरेको वाल्मिकीले बताए । क्याम्पसले हालै प्रकाशित सिटिइभिटीको अन्तिम नतिजामा डिप्लोमा इन फार्मेसीको तेस्रो र सिएमएलटी तेस्रो वर्षमा गत वर्षझैं सत प्रतिसत नतिजा निकाल्न सफल भएको थियो । सिएमएलटी तर्फ १५औं ब्याच र फार्मेसी तर्फ छैठौं व्याचका विद्यार्थी गरी करिब १ हजार विद्यार्थी क्याम्पसले उत्पादन गरिसकेको छ ।
क्याम्पसबाट उत्पादन भएका ७ जना विद्यार्थीले एमबिबिएस तहको परीक्षामा पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । उत्पादन भएका ३० प्रतिसत विद्यार्थीले फार्मेसी, मेडिकल ल्याब संचालन गरिरहेका छन् । २० प्रतिसतले सरकारी, २० प्रतिसत विदेशमा रोजगारीका लागि गएको छन् भने ३० प्रतिसतले एनजिओ र आइएनजिओमा काम गरिरहेको क्याम्पसले बताएको छ ।