स्वतन्त्र उम्मेदवार खनाल र रौनियारले सुरु गरे चुनावी अभियान
Wednesday, August 24th, 2022, 9:39 pm
Kalpristha
आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारले आफ्नो चुनावी अभियान सुरु गरेका छन् । निर्वाचन आयोगले आगामी मंसिर ४ गते दुबै निर्वाचन एकैसाथ गर्ने तयारी गरिरहेको छ ।
बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका दिवाकर खनाल र प्रदेश सभा २ का उम्मेदवार राजकुमार रौनियारले मंगलबारबाट चुनावी अभियान सुरु गरेका छन् ।
खनाल र रौनियारले आफ्ना समर्थक र नेपाल शिव सेनाका केन्द्रिय तथा जिल्लाका अगुवा नेताको उपस्थितीमा हनुमान चालिसा पाठ गरेर विधिवत रुपमा आफ्नो चुनावी अभियानको सुरुवात गरेका हुन् ।
नेपालगन्ज त्रिभुवन चोक स्थित हनुमान मन्दिरमा उपस्थित भएका उम्मेदवारद्वय खनाल र रौनियारले संयुक्त हनुमान चालिसा पाठ गरेर आफ्नो चुनावी अभियान विधिवत रुपमा सुरु गरेको बताए । नेपाल शिव सेना नेपालगन्ज नगर अध्यक्ष सुनिल केसीको नेतृत्वमा हनुमान चालिसा पाठ गरेर विधिवत रुपमा चुनावी अभियान सुरुवात गरिएको थियो ।
त्यस क्रममा नेपाल शिव सेनाका केन्द्रिय उपाध्यक्ष किशोर लामा, महासचिव मंगल जिएम, सचिव शेरबहादुर शाही, केन्द्रीय सदस्य राजेशकुमार यादव र बाँके अध्यक्ष मदनराज शर्मा लगायतको उपस्थिती रहेको थियो । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाका लागि उम्मेदवारी घोषणा गरेका खनालले यसपटक निर्वाचन परिणाम आफ्नो पक्षमा हुने बताइरहेका छन् ।