९६ जना प्रहरी जवान दीक्षित
Thursday, August 25th, 2022, 7:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ भदौं
लुम्बिनी प्रदेश प्रहरी गण खजुरामा संचालित प्रहरी जवान ८–१११ ‘ख’ औं समुहको आधारभुत तालिममा सहभागी ९६ जना प्रहरी जवानहरु दीक्षित भएका छन् ।
गत असोज १७ देखी संचालित प्रहरी जवान ८–१११ ‘ख’ औं समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात बिहिबार लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँके खजुरामा प्रहरी जवानहरुलाई दीक्षित गरिएको हो । बिहिबार गण स्थापना भएपछि खजुरामा पहिलो पटक दीक्षान्त समारोह गरिएको थियो ।
उक्त समारोहमा नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश हाल नेपालगन्ज बाँकेका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज बिष्टको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो ।
समारोहमा ९६ जना प्रहरी जवानहरु दीक्षित भएका छन् । समारोहमा गणका प्रहरी नायब उपरीक्षक दामोदर केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरी तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन, प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिएको जानकारी गराए ।
प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम लुम्बिनी प्रदेश प्रहरी गणका गणप्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्की सपत ग्रहण गराएका थिए ।
प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रहरी जवान अर्जुन कुमार ओली सहित विभिन्न ७ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी बिष्टले पुरस्कृत गरे ।
प्रमुख अतिथी प्रहरी बरिष्ठ उपरीक्षक बिष्टले सदा सच्चा ईमान्दार र कर्तव्यपरायण, आफ्नो कर्तव्य पालनाको सिलसिलामा, जोश र अनुशासनको माध्यमबाट सचेत भई भेद्भाव र पक्षपात रहित आर्दश प्रहरी बन्न निर्देशन दिए ।
समारोहमा प्रमुख अतिथि विष्टले देश र जनताको सेवामा अहोरात्र खटिदैं इमानदार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन दिएका थिए ।