प्राविधिक विश्वविद्यालय निर्माणले तिव्रता पाउँदैं
Friday, August 26th, 2022, 6:46 pm
Kalpristha
आर्थिक वर्ष २०७९–८० मा छुटयाएको बजेटबाट ६ करोड १५ लाख ५३ हजार प्रशासनिक र ६ करोड २१ लाख २० हजार रुपैयाँ पुँजीगत रुपमा खर्च गरिनेछ । बुटवलमा भदौं ८ गते सम्पन्न भएको विश्वविद्यालयको प्रथम सभाले विभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ ।
कमल खत्री
खजुरा, १० भदौं
बाँकेको खजुरामा बन्न लागेको लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण कार्यले तिव्रता लिने भएको छ । लुम्बिनी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको विश्वविद्यालय निर्माण कार्य अगाडी बढाउनको लागि प्रदेश सरकारले सुरुआतमा १२ करोड ३६ लाख ७३ हजार रुपैयाँ बजेट बिनियोजन गरिसकेको छ ।
अब यसै साता विश्वविद्यालय स्थापनाको लागि सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी भैरहेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले बताए । खजुरासँगै पश्चिम नेपालको भविष्यसँग जोडिएको आयोजनाको सम्पुर्ण प्रक्रिया अगाडी बढिसकेको उनले बताए ।
अध्यक्ष विकले भने,‘प्रदेश सरकारलाई म विशेष धन्यवाद दिन चाहन्छु । अब हामी तिव्र गतिमा यसलाई सम्पन्न गर्ने दिशामा अगाडी बढेका छौं । प्राविधिक विश्वविद्यालयले यस क्षेत्रमा आवश्यक परेका दक्ष प्राविधिक जनशंक्ति उत्पादन गर्दै देश विकासमा योगदान गर्नेछ ।’
भदौंको १९ गते केन्द्रिय कार्यालयको उद्घाटन गर्ने तयारी भैरहेको छ । जसको उद्घाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री एवम् कुलपति कुल प्रसाद केसीले गर्ने खजुरा गाउँपालिका अध्यक्ष विकले जानकारी गराए ।
खजुरा गाउँपालिकाको वडा नम्बर ८ मा बन्ने प्राविधिक विश्वविद्यालयका लागि पालिकाले ९० विगाह जमिन उपलब्ध गराईसकेको छ ।
प्रदेश सरकारले २०७६ माघ ३ गते खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर त्यसपछि विश्व विद्यालय स्थापनाको लागि आवश्यक पर्ने प्रक्रिया सुरु हुन ढिलाई भैरहेको थियो ।
आफुहरु निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा राखेर विश्वविद्यालयको काम अगाडी बढाएको बताउँछिन् खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल ।
उनले भनिन्,‘अहिलेको हाम्रो मुख्य प्राथमिकता भनेको विश्वविद्यालय निर्माण कार्यलाई छिटो अगाडी बढाउनु रहेको छ । किनकी दक्ष प्राविधिक बिना हामीले देशको विकास गर्न सक्दैनौं । हरेक क्षेत्रमा प्राविधिकको चाहिन्छ । तर हामी प्राविधिक शिक्षाको क्षेत्रमा पछाडी छौं । अब खजुराबाट हरेक वर्ष दक्ष प्राविधिक उत्पादन हुनेछन् ।’
नेपाल सरकारको नाममा रहेको जग्गा विश्व विद्यालयलाई हस्तान्त्र गर्ने प्रक्रिया पनि अहिले सुरु भैसकेको छ ।
आर्थिक वर्ष २०७९–८० मा छुटयाएको बजेटबाट ६ करोड १५ लाख ५३ हजार प्रशासनिक र ६ करोड २१ लाख २० हजार रुपैयाँ पुँजीगत रुपमा खर्च गरिनेछ ।
बुटवलमा भदौं ८ गते सम्पन्न भएको विश्वविद्यालयको प्रथम् सभाले विभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । मुख्यमन्त्रीको नेतृत्वमा बसेको बैठकमा चालु आर्थिक वर्षमा तयार गरिएको बजेट स्वीकृत, विश्वविद्यालयको कोष स्थापना, अस्थायी कर्मचारी दरबन्दी र पदाधिकारीको सेवा सुविधाका बारेमा छलफल भएको थियो ।
खजुरा गाउँपालिकाले विश्वविद्यालय निर्माण कार्यका लागि खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक निर्मल रेग्मीलाई फोकल पर्सनका रुपमा जिम्मेवारी दिएको छ ।
बाँके–बर्दियासँगै सिंगो लुम्बिनी प्रदेशको गौरवको योजनाले युवापुस्तालाई प्राविधिक ज्ञान प्रदान गर्दै रोजगारी उन्मुख दिशामा अगाडी बढन सहयोग गर्ने अध्यक्ष विक बताउँछन् । उनले भने,‘हाम्रो प्राथमिकता कृषि हो । हामीसँग भएको जमिनलाई उत्पादनसँग जोडन दक्ष प्राविधिकको खाँचो छ । अब त्यो पुर्ति विश्वविद्यालयले गर्नेछ ।’
विश्वविद्यालय स्थापनामा थुप्रै चुनौतिहरु भएपनि त्यसलाई खजुरावासीले पन्छाउँदैं विश्वविद्यालयमा निर्माणमा एकढिक्का भएर लागेको अध्यक्ष विकले कालपृष्ठ दैनिकलाई बताए ।