कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना
Sunday, August 28th, 2022, 6:49 pm
Kalpristha
बाँकेको कोहलपुर नगरपालिकामा मालपोत कार्यालय र नापी कार्यालय स्थापना गरिएको छ । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले दुवै कार्यालयको उद्घाटन गरिन् ।
नगर विकास समितिको भवनमा मालपोत र नापी कार्यालयको उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी र वैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिनका लागि कोहलपुरमा उक्त कार्यालय स्थापना गरिएको हो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, बाँके जिल्ला प्रमुख सूर्यबहादुर खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल नेपाली, नापी कार्यालय बाँकेका प्रमुख अधिकृत सहदेव सुवेदीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री शशी श्रेष्ठले संविधानको रक्षा गर्न बनेको वर्तमान सरकारले जनतालाई सहज र सरल तरिकाले सेवा दिन लागि परेको बताइन् ।
युवा तथा खेलकुदमन्त्री गहतराजले कोहलपुरमा मालपोत र नापी कार्यालय देखाउनका लागि मात्रै नभइ काम गर्नका लागि उद्घाटन गरिएको बताए ।
पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले उद्घाटन गरिएको मालपोत र नापी कार्यालय निर्वाचनअघि सुचारु भएको कोहलपुरवासीले हेर्न चाहेको बताइन् ।
कोहलपुरका मेयर पूर्ण आचार्यले मालपोत र नापी कार्यालय सञ्चालनका लागि बजेट र जनशक्तिको अभाव हुन नदिन आग्रह गरे । उनले मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका महानिर्देशकले कोहलपुरबाट छिट्टै मालपोत र नापी कार्यालय सञ्चालनमा आउने आश्वासन दिएका छन् ।
तस्बिर : देशसञ्चारबाट