तिजमा देखियो हर्सोउल्लास
Tuesday, August 30th, 2022, 6:09 pm
Kalpristha
कोरोनाको प्रभावका कारण दुई वर्षदेखि हरितालिका तिजको अवसरमा हर्सोउल्लास देख्न सकिएन । तर दुई वर्षपछि बाँकेमा मंगलबार हर्सोउल्लास देखियो । बाँकेका अधिकांश स्थानमा तिजको अवसरमा औपचारिक कार्यक्रमदेखि नृत्य प्रतियोगिता एवम् हिन्दूनारीहरुको नाचगाना देखियो ।
विगतका वर्षदेखि तिजको अवसरमा महोत्सव हुने खजुरा गाउँपालिका वडा नम्बर ३ मा दुई वर्षपछि यो वर्ष बृहत तिज महोत्सव आयोजना गरियो । जसमा खजुरा क्षेत्रलगायतका स्थानबाट हजारौंको संख्यामा स्थानीयको उपस्थिति देखियो ।
हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा खजुरामा बृहत तीज महोत्सव आयोजना गरिएको हो । खजुरा क्षेत्रको संरक्षण समिति खजुरा ३ को आयोजनामा बृहत तीज महोत्सव गरिएको हो । यस वर्ष पनि खजुराको लक्ष्मी नारायण मन्दिर अगाडि बृहत तीज महोत्सव आयोजना गरिएको संरक्षण समितिका अध्यक्ष दुर्गालाल विश्वकर्माले जानकारी दिए । विगत २ वर्षदेखि कोभिड १९ का कारण खजुरा क्षेत्रमा तीज महोत्सव हुन नसकेको कारण यस वर्ष तीजको दिन आम जनमानसमा हुने हर्ष, उल्लासलाई भव्यका साथ बनाउन तीज महोत्सव कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

.
खजुराको तिजमा रमाउने शैली, संस्कृति तथा प्रचलनलाई पुनः जिवन्त बनाई खजुुरा क्षेत्रको सांस्कृति पहिचानको संरक्षण, संम्बद्र्धन गर्ने जिम्मा युवा बर्गको रहेको अध्यक्ष विकले बताए । नृत्य प्रतियोगितामा सामुहिक तथा एकल नृत्य पनि प्रस्तुत गरिएको छ ।
कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल, निवर्तमा अध्यक्ष किस्मतकुमार कक्षपतिलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै हरितालिका तिजको अवसरमा बाँकेको प्रसिद्ध मन्दिर बागेश्वरी मन्दिरको पार्कमा भब्य तिज उत्सव कार्यक्रम भएको छ । नेपाल शिवसेना बाँकेले आयोजना गरेको तिज उत्सव कार्यक्रममा बाँके नेपाल शिव सेना महिला अध्यक्ष खुमा वलीको नेत्रत्वमा कार्यक्रम गरेको थियो ।
हरेक वर्ष नेपाल शिवसेनाले तिज कार्यक्रम गर्दै आएकोमा यस वर्ष पनि तिज कार्यक्रम गरेको नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष राजकुमार रोैनियारले बताए । बागेश्वरी मन्दिरमा दर्शन गर्न आउने तथा नेपालगन्ज बजारमा रहेका महिलाहरुका लागिको सघाउ पुर्याउने लक्ष्यले हरेक बर्ष कार्यक्रम गर्ने गरेको अध्यक्ष रोैनियारले बताए ।
तिज कार्यक्रमलाई सफल बनाउन नेपाल शिवसेना बाँकेका नगर उपाध्यक्ष विजय थापाको नेत्रत्वमा सयौं जना शिव सैनिक खटाई मन्दिर परिसरमा हुने अनैतिक क्रियाकलाप र तिज कार्यक्रममा आइपर्ने समस्यालाई समाधान गर्न शिव सैनिक खटाइएको अध्यक्ष रोैनियारले बताए ।
यसैगरी खजुरा गाउँपालिका वडा नम्बर ३ एक नम्बर, वडा नम्बर २ सैनिक, वडा नम्बर ७ सिमलारीलगायत नेपालगन्ज उप-महानगरपालिकाका विभिन्न स्थान, कोहलपुर नगरपालिकाका विभिन्न स्थान, बैजनाथ गाउँपालिकाका विभिन्न स्थान र अन्य स्थानमा पनि तिज महोत्सव आयोजना गरियो ।