नेपालले जित्यो केन्याविरुद्धको टी–ट्वान्टी सिरिज
Tuesday, August 30th, 2022, 7:20 pm
Kalpristha
नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो । नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।
केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए । कप्तान शेम एन्गोचेले अविजित ३३ रन जोड्दा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछाने र वसिर अहमदले २/२ विकेट लिए । करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । ज्ञानेन्द्रको यो टी–ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो । यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।
आदिल आलमले ७ बलमा ४ रन तथा पवन सरार्फले २ बलमा १ रन बनाए । विवेक यादबले २ बलमा २ रन बनाए तथा करण केसीले २ बलमा २ रनका साथ अविजित रहे ।
केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले २/२ विकेट लिए । लुकास ओलुओचले १ विकेट लिए ।