धनौली प्रहरी कार्यालय अगाडी मृतकका आफन्तले गरे नाराबाजी
Tuesday, August 30th, 2022, 8:46 pm
Kalpristha
गोपाल बहादुर बुढाक्षेत्री
नेपालगन्ज, १४ भदौं
खजुरा गाउँपालिका वडा नम्बर ५ निवासी धनराज कादुको मृत्यु भएपछि उनका आफन्तले प्रहरी कार्यालय अगाडी नाराबाजी गरेका छन् । गत आइतबार राती खजुरामा मोटरसाइकल दुर्घटना भएको थियो । उक्त मोटरसाइकल दुर्घटनामा खजुरा गाउँपालिका वडा नम्बर ५ रजनवा गाउँका कादु र एक अर्का व्यक्ति घाइते भएका थिए ।
अत्याधिक मदिरा सेवन गरेका कारण दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई खजुरा क्यान्सर अस्पतालमा उपचारको लागि लगिएको थियो । उनीसँगै गएका एक व्यक्तिको क्यान्सर अस्पतालमा उपचार भैरहेको भने कादुलाई इलाका प्रहरी कार्यालय धनौलीमा लगेर राती राखेको थियो ।
उनको स्वास्थ्य अवस्था ठिक भएपछि आफन्तको जिम्मा लगाएर पठाएको बताउँछन् बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी । तर उनको पछि स्वास्थ्य अवस्था बिग्रिएर आफन्तले उपचार गर्न लग्ने क्रममै बाटोमा मृत्यु भएको थियो । आफनो छोराको मृत्यु भएपछि मंगलबार उनका कादुको परिवार र गाउँलेहरुले इलाका प्रहरी कार्यालय अगाडी टायर बालेर केहि समय सम्म सडक अवरुद्ध गरेका थिए ।
नेपालगन्जबाट पोस्टमार्टम गरेर घर लग्ने बेलामा प्रहरीको लापरबाही कारण धनराज कादुको मृत्यु भएको भन्दैं घटनाको छानबिनका लागि माग गरेका छन् । बाँके प्रहरी प्रमुख अधिकारीले भने अत्याधिक मदिरा सेवन गरेका कारण उनको स्वास्थ्य अवस्था बिग्रिएकोले मृत्यु भएको बताउँछन । अधिकारीले कालपृष्ठ दैनिकलाई भने,‘उनले अत्याधिक मदिरा सेवन गरेका थिए ।
दुर्घटना भएपछि उनीहरुको प्रहरीले स्वास्थ्य परीक्षण गरेको थियो । त्यतिबेला ठिक भएपछि उनलाई आफन्तको जिम्मा लगाएर पठाएको थियौं ।’ प्रहरी कार्यालयको हिरासतमा राखेको बेलामै उनको स्वास्थ्य अवस्था बिग्रिएको आफन्तहरुले बताएका छन् । आफन्तहरुले इलाका प्रहरी कार्यालय धनौलीको लापरबाहीको कारण कादुको मृत्यु भएको आरोप लगाएका छन् ।

………….