दाङमा चट्याङ लागेर दुईको मृत्यु
Wednesday, August 31st, 2022, 6:27 pm
Kalpristha
चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ । यस्तै अन्य ११ जना घाइते भएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ गुर गाउँको साल्डाडामा मंगलबार राती चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर १९ वर्षीया मोनिसा शाह र १६ वर्षीया दिपा घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बीरबहादुर ओलीले जानकारी दिए । घटनाबारे बुधबार बिहान मात्र प्रहरीलाई खबर आएको उनले बताए ।
उक्त वडाका वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे बिहान मात्र जानकारी गराएका थिए । घटनास्थलतर्फ प्रहरी पठाइएको र त्यहाँ पुग्न चार/पाँच घण्टा हिड्नुपर्ने प्रहरीले जनाएको छ । वडाअध्यक्षले प्रहरीलाई दिएको जानकारी अनुसार मंगलबार राती करिव साढें १२ बजेतिर चट्याङ परेको थियो ।
‘चट्याङ लागेका १३ जना मध्ये दुई जनाको मृत्यु भयो, बाँकी ११ जना घाइते अवस्था छन्, त्यहाँको वडाअध्यक्षले बिहान खबर गरेपछि मात्र प्रहरीलाई थाहा भयो,’ एसपी ओलीले दूरसञ्चार डटकमसँग टेलिफोनमा भने । घटनास्थल रोल्पाको सिमा नजिक रहेको र अत्यन्तै विकट क्षेत्र रहेकाले सूचना प्राप्त गर्न कठिन भएको उनले बताए ।