युट्युब च्यानललाई कारबाही गर्दै प्रेस काउन्सिल
Wednesday, August 31st, 2022, 7:03 pm
Kalpristha
प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण युट्ब च्यानलाई कारबाही गर्दै आएको छ । काउन्सिलले सामाजिक सद्भाव बिथोल्ने, जातिय एवम् धार्मिक सहिष्णुता खलबलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने युट्युब च्यानललाई कारबाही गर्दै आएको हो ।
काउन्सिलले बुधबार पनि नेपाल प्रहरी (साइबर ब्युरो)लाई ‘वीरगोर्खाली’ नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातिय एवम् धार्मिक सहिष्णुता खलबलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने उक्त च्यानलले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसहितलाई आधारहीन आरोप र गालीगलौज सहितको सामग्री सम्प्रेषण गरेको भन्दै कारबाहीको सिफारिस गरेको हो ।
उक्त च्यानलले ‘बाफ्रे नेता देशको कत्ति सत्रु, मरेपछि पनि भ्रष्टाचार गरिरहने योजना’ शीर्षकमा अधिकांश राजनीतिक दलका नेताहरूलाई गालीगलौज गरी घृणास्पद अभिव्यक्ति/सामग्री राखेकोले कारबाहीमा परेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।
काउन्सिलले पछिल्लो एक वर्षमा कुनै मिडियाअन्तर्गत आबद्ध नभएका पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरेको जनाएको छ । दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिताबमोजिम कारबाही गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले पत्रकारिताका मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने, अन्तराष्ट्रिय समझदारी र मित्रराष्ट्रबिच भाइचाराको सम्बन्धमा खलल पुर्याउने, अदालतमा विचारधीन अवस्थामा रहेका विषय न्यायिक निरुपणमा प्रभाव पार्ने, वैयक्तिक गोपनियता प्रतिकूल, पीडितलाई थप पीडा पुग्ने खालका सामग्री सम्प्रेषण भएका युट्युब च्यानल कारबाहीमा परेको प्रष्ट पारेको छ ।