‘नेपालगन्जको परिचयसँग जोडिएको छ कालपृष्ठ’
Wednesday, August 31st, 2022, 8:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ भदौं
कालपृष्ठ दैनिकले बुधबार विपी चोकमा नयाँ ग्राहक योजना कार्यक्रम गरेको छ । कार्यक्रमको अवसरमा कालपृष्ठ दैनिकले नयाँ ग्राहकहरुलाई विभिन्न अफर सहित टिसर्ट प्रदान गरेको छ । बुधबार कालपृष्ठ दैनिकको ग्राहक बनेकाहरुलाई बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरेका थिए ।
नेपालगन्ज उप–महानगरपालिका अगाडी भएको कार्यक्रममा बोल्दैं बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईले नेपालगन्जको इतिहाससँग कालपृष्ठको परिचय जोडिएको बताए । उनले भने,‘कालपृष्ठ दैनिक नेपालगन्जको पुरानो पत्रिका हो । यसले नियमित रुपमा सत्य, तथ्य समाचार पाठकहरुलाई दिने गरेको छ । आजभोली धेरै संचार माध्यमले हावाको भरमा समाचार खेल्छन । तथ्य नबुझेर समाचार खेल्ने गरेका छन् । तर कालपृष्ठले सम्बन्धी व्यक्तिलाई सोधेर यर्थात के हो भनेर समाचार खेल्ने गरेको छ । त्यो कालपृष्ठको निकैं राम्रो पक्ष हो ।’
कालपृष्ठ दैनिकको आफु ग्राहक भएको बताउँदैं अध्यक्ष प्रसाईले आगामी दिनमा कालपृष्ठसँग आफुहरुले सहकार्य गरेर अगाडी बढने बताए ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरण बज्राचार्यले कालपृष्ठ पत्रिका भन्ने बित्तिकैं नेपालगन्जको चिनारीसँग जोडिएको बताए । स्वतन्त्र पत्रकारितालाई आत्मसाथ गर्दै व्यवसायिक पत्रकारिताको अभ्यास गरिरहेको कालपृष्ठ दैनिकले स्थानीय स्तरमा पनि रोजगारीको सृजना गरिरहेको अध्यक्ष बज्राचार्यले बताए ।
उनले भने, ‘पछिल्लो समय कालपृष्ठ दैनिकको उन्नतीको ग्राफ बढिरहेको छ । त्यसमा हामी खुसी छौं । म नियमित रुपमा कालपृष्ठ दैनिक पढने गरेको छु । यसमा सबै विधाका समाचार पढन पाइन्छ । पत्रिकाहरुले सामाजिक संजालबाट धेरै समाचार साभार गरिरहेका हुन्छन । पत्रिकाको आफनै समाचार र शैली हुनु पर्छ जस्तो लाग्छ । त्यसमा कालपृष्ठले ध्यान दिएको छ ।’
भविष्यमा कालपृष्ठले आफनो पृष्ठसंख्या बढाउँदैं रगिन पत्रिकाका रुपमा अगाडी बढन वडा अध्यक्ष बज्राचार्यले सुझाव दिए ।
कालपृष्ठ दैनिक २५ वर्ष अघि देखी नियमित रुपमा प्रकाशित हुँदै आएको पत्रिका हो । लुम्बिनी प्रदेशको ‘क’ वर्गमा सुचिकृत रहेको कालपृष्ठ दैनिक पश्चिम नेपालको पुरानो दैनिक पत्रिकामा पर्छ । पछिल्लो समय कालपृष्ठ दैनिकले अनलाइन न्युज पोर्टल कालपृष्ठ डटकम र कालपृष्ठ न्युज युटुब च्यानल संचालन गरिरहेको छ ।