क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ३ जना सिफरिस
Friday, September 2nd, 2022, 3:21 pm
Kalpristha
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारी छनौट गर्न लागि शुक्रबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले जिल्ला कार्यसमितिमा नाम सिफारिस गरेको छ । जसमा प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ ।
प्रत्यक्षतर्फ पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले चुनाव लड्दै आएको क्षेत्र नम्बर २ मा उनकै भाई बुहारी नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल र तरुण दल बाँकेका अध्यक्ष युवा नेता वीरेन्द्र बहादुर शाहको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले जानकारी दिएका छन् ।
त्यस्तै समानुपातिकमा पुरुष खुलातर्फ पूर्व मन्त्री एवम् पार्टी सभापति गजेन्द्र हमाल, दलिततर्फ केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला)र साबरा बेगमको नाम सिफारिस भएको गुप्ताले जनाकारी दिए ।
साथै समानुपातिकमा मधेशीतर्प बन्दना सिंह, त्रिलोकी गिरी, आदिबासी जनजातीतर्फ रविन्द्रमान श्रेष्ठ, अपांग/अल्पसंख्यकतर्फ डा. सुरेशकुमार कनोडिया, रामु चिडिमार, राकेश श्रीवास्तव र खसआर्यतर्फ अजितकुमार शर्मा, रमा उपाध्याय, कमला भट्टको नाम सिफरिस भएको छ ।
यसअघि बिहीबार बाँकेका क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ बाट पनि उम्मेदवारी छनौटका लागि नाम सिफारिस भई सकेको छ ।
नेपाली कांग्रेस बाँकेको ३ नम्बर क्षेत्रीय कार्यसमितिले नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, केन्द्रीय सह–महामन्त्री किशोरसिंह राठोर र प्रधानमन्त्री पत्नी नेतृ डा. आरजु राणा देउवाको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति नक्की खाँका अनुसार नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।
बैठकमा केहि नेताहरुले आफनो निर्वाचन क्षेत्रबाट अन्य नेताको नाम सिफारिस भएको विषयमा असन्तुष्टि जनाएका थिए । तर कांग्रेसको क्षेत्रीय कार्यसमिति बैठकले पार्टीको शिर्ष नेताहरु आफुनो निर्वाचन क्षेत्रबाट चुनाव लड्न तयारी भए त्यसलाई स्वागत गर्नु पर्ने क्षेत्रीय सभापति नक्की खाँले बताएका थिए ।
सिफारिस भएका तिनैं ‘हेबी वेट’ नेताहरु संस्थापन समुहका हुन् । उनीहरुको नाम सिफारिस भएपछि कोइराला समुहका नेताहरुले असन्तुष्टि जनाएका थिए ।
उप–सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट चुनाव लड्दै आएका छन् । बर्दियाका राठोरको निर्वाचन क्षेत्र बर्दियाकै क्षेत्र नम्बर २ हो । यसैगरी राणा २०७४ मा कैलाली ५ बाट चुनाव लडेकी थिइन् । यसपटक पनि उनी कैलाली ५ बाट एकल सिफारिसमा परेकी छिन् ।
यस्तै क्षेत्र नम्बर ३ कै भूगोलमा राजनीति गरिरहेका ६ जना स्थानीय नेताहरु सिफारिस भएका छन् । महासमिति एवम् संविधानसभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य आशा विक, महासमिति सदस्य मेघराज वली, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्रीय सभापति मो. नक्की खाँ, महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री, पूर्व महाधिवेशन प्रतिनिधि उत्तमराज घिमिरे र प्रदेश अधिवेशन प्रतिनिधि तेजेन्द्र कँडेललाई सिफारिस गरेको क्षेत्रीय सचिव ज्ञानबहादुर वलीले जानकारी दिए । २०७४ मा कांग्रेसबाट कुर्मी चुनावी प्रतिष्पर्धामा थिए । बाम गठबन्धनका नन्दलाल रोकायसंग उनी पराजित भएका थिए ।
यस्तै समानुपातिकतर्फ पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगन बहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुनसिंह पाण्डे, पुष्पा सुनार र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् ।
नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले प्रत्यक्ष र समानुपातिकतर्फ ३/३ जनाको नाम जिल्लामा सिफारिस गर्ने भएको छ । क्षेत्रीय कार्यसमितिका सचिव खुमबहादुर बस्नेतका अनुसार प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ३ जना र समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको बताए ।
प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति नारायणप्रसाद गौडेल, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री र तरुण दलका पूर्व महासचिव हुर्मत कुमार न्यौपानेको नाम सिफारिस गर्ने निर्णय भएको बस्नेतले जानकारी दिए । गौडेल यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार थिए । खत्री प्रतिनिधिसभाका उम्मेदवार थिए ।
यस्तै समानुपातिकतर्फ क्षेत्रीय कार्यसमितिले नारायणप्रसाद सिग्देल, द्रोपती वली र लुटबहादुर खत्रीको नाम सिफारिस गरेको छ । सिग्देल २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवार थिए । क्षेत्रीय सचिव बस्नेतले प्रदेश क्षेत्र कार्यसमितिले सिफारिस गरेका नामहरुमा पनि आफ्नो राय लेखेर आजै जिल्लालाई बुझाइने बताए ।