नाथमलाई अन्यन्त्र सार्न नदिन बाँके एकजुट
Friday, September 2nd, 2022, 8:04 pm
Kalpristha
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) कलेजलाई बाँके जिल्लाबाट अन्यन्त्र सार्न नदिन सरोकारवालाहरु एकजुट भएका छन् । देश संघीयतामा गएसँगै यस क्षेत्रका सरकारी तथा गैरसरकारी कार्यालय अन्यन्त्र सरेर गएको अवस्थामा नेपाल सरकारले लुम्बिनी प्रदेशमै नेपालगन्ज छनौट गरी संचालनमा ल्याउन लागेको नाथम कलेज अन्यन्त्र सार्न नदिनका लागि बाँकेका सरोकारवालाहरु एकजुट भएका हुन् ।
नेपालगन्ज उप-महानगरपालिकाको आयोजना तथा नाट्टा बाँकेको समन्वयमा शुक्रबार आयोजित कार्यक्रममा कलेजलाई व्यवस्थीत बनाउन जिल्ला समन्वय समितिको नेतृत्वमा अघि बढ्न सुझावसमेत दिइएको छ ।
ढाइ वर्ष अघिदेखि कक्षा संचालन गर्नका लागि जग्गा खोजिरहेको नाथम नेपालगन्जले जनाएको छ । विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले जग्गा प्राप्त गर्न ढिलाई भइरहेको नाथम नेपालगन्जका प्रमुख विपिन नेपालले बताए । मंगल प्रसाद माविको परिषरमा कार्यालय रहेको जानकारी दिँदै नेपालले १ करोड बढीको प्रयोगशालाका लागि आवश्यक सामाग्री रहेको जानकारी दिएका छन् ।
ब्राण्ड स्थापित गरेको कलेज भएकाले यहाँ अध्ययनरत विद्यार्थीहरु अधिकांश काममा दक्ष रहेको उनको भनाइ छ । सस्तो र सुलभरुपमा पढ्न पाउने गरी नेपाल सरकारले लुम्बिनी प्रदेशको नेपालगन्जमा कलेज स्थापना गर्न लागेको जानकारी दिए । नाथमबाट अध्ययन गर्ने विद्यार्थीहरुका लागि वैदेशिक रोजगारीमा समेत राम्रो सम्भावना देखिएकाले यसप्रति देशैभर आर्कषण रहेको उनले बताए ।
कलेजले होटेल म्यानेजमेन्ट र टुरीजम विषयमा ४ वर्षे स्नातकको अध्यापन गराउने छ ।
होटेल र पर्यटनको क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएकाले बाँकेमा कलेजको आवश्यक्ता रहेको नाट्टा नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष अच्युत गुराँगाईले बताए । यस क्षेत्रका सरोकारवालाहरुले कलेज संचालन गर्नका लागि चासो दिनुपर्ने उनको भनाइ छ ।
नेपालगन्जमा स्टार होटेलहरु थपिँदै गएको अवस्था छ । त्यसका लागिसमेत सिप भएका विद्यार्थीको माग बढेको छ । यस्तो अवस्थामा पश्चिम नेपालका विद्यार्थीहरुले सस्तो र सुलभ रुपमा यसै क्षेत्रमा पढ्न पाउने भएकाले पनि कलेज सन्चालन आवश्यक रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य आइपि खरेल, नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, कोहलपुरका मेयर पूणर्प्रसाद आचार्य, राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर, जर्नादन शर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जिवि वलीलगायतका बौद्धिक व्यक्तिहरुको सहभागिता थियो ।