अर्थमन्त्री शर्माले नरैनापुरको अवलोकन गरे
Friday, September 2nd, 2022, 8:51 pm
Kalpristha
सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अवस्था बुझ्न अर्थमन्त्री जनार्दन शर्मा शुक्रबार नरैनापुर पुगेका छन् । उनले सो क्षेत्रको स्थलगत अनुगमन गरेर स्थानीय जनप्रतिनिधी, किसान र सर्वसाधारणसँग विस्तृत रुपमा जानकारी लिएका छन् ।
अनुगमनको क्रममा मन्त्री शर्माले गाउँपालिकाको केही वडामा पुग्नुका साथै भारतीय सीमा नाका बघौडासम्मको समेत स्थलगत अनुगमन गरे । प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको र सो पनि पछि सुकेर काम नलाग्ने भएको छ । स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकांश खेती योग्य जमिन बाँझो रहेको आफूले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाए । सो समस्याका बारेमा मन्त्री परिषदको बैठकमा जानकारी गराउनुका साथै प्रधानमन्त्रीसँग पनि कुरा गर्ने बताए ।
उनले तत्कालका लागि के गर्न सकिन्छ र बाँझो खेतलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा निष्कर्श निकालेर अगाडि बढ्ने जनाउँदै सरकारले कसैलाई भोकै बस्न नदिने बताए ।
सिँचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउँदै गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साहले यसपटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ नभएकोले सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै किसानलाई राहत दिन माग गरे । सो क्षेत्रमा सिंचाइको लागि हरेक वडामा तीन तीन वटा डिप बोरिंग जडान गरेर अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाइको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न मन्त्री शर्मालाई अध्यक्ष शाहले आग्रह गरे ।